विपद् तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा शुरु

‘मेरो जीवनमा भएको एउटा दुर्घटनामा ग्रामिण भेगको एक स्वास्थ्यचौकीमा स्वास्थकर्मीले रगत बग्न नरोकिदिएको भए सायद म आज यो कार्यक्रमको प्रमुख अतिथी हुन पाउने थिइन् ।’
नौलो समाचार संवाददाता
२०८० मंसिर १५, शुक्रबार मा प्रकाशित ११५३ पटक पढिएको
विपद् तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा शुरु

धुलिखेल \ विपद् तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा शुरु भएको छ ।

अमेरिका, भारत, मलेसिया, अष्ट्रेलिया लगायतका मुलुकबाट १ सय ४० भन्दा बढी विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत विशेषज्ञ, स्वास्थ्य जनशक्ति सम्मेलनमा सहभागी छन् ।

आयोजक समितिको सचिव रहेकी धुलिखेल अस्पतालको जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन विभागमा कार्यरत डा. सम्झना बस्नेतका अनुसार, ती देशमा विपद व्यवस्थापनका लागि गरिने प्रयास र कामका बारेमा अनुभव आदान प्रदान हुनेछ । नेपालमा विपद व्यवस्थापनमा संलग्न हुने सरोकारवाला निकायहरुले पनि आफ्ना प्रयास र अनुभव सुनाउनेछन् । घटनास्थलमा नै अल्ट्रासाउण्डको प्रयोग, विकट क्षेत्रमा हुने औषधी उपचार, नेपालमा हवाइ औषधी उपचार, विपद व्यस्थापनमा नेतृत्व क्षमता लगायत बिषयमा प्यानल छलफल हुने तालिका छ । विपद व्यवस्थापनमा प्रभावकारी सञ्चारको भूमिकाका बारेमा पनि पनि सम्मेलनमा छलफल हुनेछ ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले सम्मेलन उद्धघाटन गर्दै महाभूकम्प र कोरोना जस्ता विपदमा धुलिखेल अस्पतालले खेलेको भूमिकाको प्रशंसा गरे । विपदका कारण अल्पायुमा धेरैले ज्यान गुमाउनु परेको भन्दै उनले जनताको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीलाई भगवानको रुपमा चित्रण गरे । ‘मेरो जीवनमा भएको एउटा दुर्घटनामा ग्रामिण भेगको एक स्वास्थ्यचौकीमा स्वास्थकर्मीले रगत बग्न नरोकिदिएको भए सायद म आज यो कार्यक्रमको प्रमुख अतिथी हुन पाउने थिइन् ।’ स्वास्थ्यकर्मीको भूमिका वर्णन गर्दै उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयका अतिरिक्त सचिव डा.दिपेन्द्ररमण सिंहले यस्ता सम्मेलनले नीति र प्रणालीमा सुधार गर्न केही दिशानिर्देश गर्ने अपेक्षा गरे ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. अमित सिंहले विपद व्यवस्थापको लागि तीनवटै तहका सरकारका साथै नागरिकको समेत क्षमता अभिवृद्धि गरिनुपर्ने तर्क गरे ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. मनोज हुमागाईले नेपाल सबै खालेको विपदको जोखिममा रहेको भन्दै २०७२ सालको महाभूकम्पको समयमा धुलिखेल अस्पतालको व्यवस्थापनको प्रशंसा गरे ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिन डा. राजेन्द्र कोजूले विपद व्यवस्थापनको लागि सेवा भाव, उपचार गर्ने ज्ञान र सिप र सञ्चार सिप समेत हुनुपर्ने बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले विपद व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको सुरक्षा पनि प्रमुख चासोको बिषय भएको बताए ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले विपदको व्यवस्थापन सामूहिक प्रयासबाट मात्रै सम्भव हुने भन्दै विपदको बेलामा इमर्जेन्सी विभागले खेलेको भूमिकाको प्रशंसा गरे ।

धुलिखेल अस्पतालमा कार्यरत अर्थोपेडिक तथा ट्रमा सर्जन डा. रोहित श्रेष्ठले सवारी दुर्घटना र उचाइबाट खस्ने खालका दुर्घटना पनि बढी रहेको भन्दै विपद व्यवस्थापनले अनगिन्ती जीवनरक्षा हुने तर्क गरे ।

सम्मेलन आयोजक समितिका संयोजक रहेका डा. बलराम मल्लले घटनास्थलबाटै विपदको व्यवस्थापन शुरु गर्नुपर्ने भन्दै सबै क्षेत्रको उत्तिकै भूमिका रहने बताए । सम्मेलन आइतबारसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस