पाँचखाल । काभ्रेको पाँचखालस्थित एक सामुदायिक वनमा दुई जना व्यक्तिको सडेगलेको अवस्थामा कंकाल फेला परेको छ । वनमा झुण्डिएको अवस्थामा फेला परेका ती कंकालहरू विगत केही समयदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शक्ति राम र उनलाई भेट्न आएकी महिलाको भएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, जेठ २० गते बिहान अन्दाजी १०:३० बजेको समयमा पाँचखाल नगरपालिका वडा नं. ३ स्थित ठुली सामुदायिक वनमा टाउकोको कंकाल मात्र झुण्डिएको अवस्थामा दुईवटा शव फेला परेका थिए । शरीर सडेगलेर कंकाल बनिसकेको अवस्थामा मौवाको दुईवटा रुखमा ती शवहरू फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटर काभ्रे दरबन्दी भएका र पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरी घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (स.प्र.स.नि.) शक्ति राम गत वैशाख १९ गतेदेखि २ दिनको बिदा लिई निस्किएका थिए । त्यसपछि उनी घरपरिवार र कार्यालय दुवैको सम्पर्कमा नरहेपछि गणले वैशाख २१ गते खोजतलासका लागि पत्राचार गरेको थियो ।
यसैबीच, कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. १ की ती महिला वैशाख १८ गते काभ्रेमा रहेका शक्ति रामलाई भेट्न भनी हिँडेकी परिवारले बताएका छन् । दुवै जनाको मोबाइल फोन स्विच अफ भएपछि ती महिलाका भाइले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजी गरिपाऊँ भनी निवेदन दिएका थिए । प्रहरी वृत्त बालाजुले ती महिलाको मोबाइलको अन्तिम लोकेशन काभ्रेपलाञ्चोक जिल्ला देखाएपछि जिल्ला प्रहरी कार्यालयसँगको संयुक्त समन्वयमा विस्तृत अनुसन्धान र खोजतलास सुरु गरिएको थियो । प्रहरीले विभिन्न विधि, प्रविधि, बैंक विवरण तथा कल डिटेल रेकर्ड (CDR) का आधारमा अनुसन्धान अघि बढाएको थियो । सोही खोजतलासकै क्रममा जेठ २० गते वनमा कंकाल फेला परेपछि प्रहरी चौकी पाँचखाल र जिल्लाबाट खटिएको विशेष टोलीले घटनास्थलको अनुसन्धान गरेको थियो । मृतकहरूले लगाएका कपडा र उनीहरूको साथबाट बरामद भएका कागजातहरूका आधारमा आफन्त तथा साथीभाइले उक्त शव शक्ति राम र ती महिलाकाकै भएको सनाखत गरेका हुन् ।
प्रहरीले दुवै मृत शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखेको छ । घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस