संस्कृति फार्म एण्ड रिसर्च सेन्टरलाई २० लाख राशीको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड 

नौलो समाचार संवाददाता
२०८३ बैशाख ५, शनिबार मा प्रकाशित ४८३ पटक पढिएको

संस्कृति फार्म एण्ड रिसर्च सेन्टरलाई २० लाख राशीको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड 

पोखरा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं १, फूलबारीस्थित संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले यस वर्षको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड २०२६ प्राप्त गरेको छ । २० लाख रुपैयाँ राशिको उक्त अवार्ड रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ डिस्ट्रिक्ट कन्फरेन्सका अवसरमा पोखरामा प्रदान गरिएको हो ।

रोटरीका डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला, पास्ट डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन तथा दीपकराज भण्डारीलगायतले सेन्टरका सञ्चालक श्रीकृष्ण धिताल र रुपा प्याकुरेललाई अवार्ड हस्तान्तरण गरेका थिए । रोटरी इन्टरनेसनलद्वारा प्रदान गरिने यो अवार्ड पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति, समूह वा संस्थालाई दिइन्छ । यसअघि १० लाख रुपैयाँ रहेको पुरस्कार राशि २०२४ देखि वृद्धि गरी २० लाख बनाइएको हो ।

२०७४ सालदेखि सञ्चालनमा रहेको संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले पानी, सरसफाइ तथा स्वच्छता, खाद्य सुरक्षा, दिगो कृषि, नवीकरणीय ऊर्जा र जलवायु सहनशीलता क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ । सेन्टरले ‘फुड–एनर्जी–वाटर नेक्सस’ अवधारणामा आधारित भई समुदायमा पानीको अभाव समाधान, सुरक्षित पानीको पहुँच विस्तार, र दिगो जीवनयापन प्रवद्र्धनमा काम गरिरहेको छ ।विशेषगरी, वर्षा पानी संकलन, विकेन्द्रीकृत फोहोर पानी प्रशोधन, पानीको गुणस्तर परीक्षण, र समुदायस्तरमा सरसफाइ प्रवद्र्धनजस्ता कार्यक्रममार्फत त्यहाँका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

हालसम्म ३०० भन्दा बढी वर्षा पानी संकलन पोखरी निर्माण भई लाखौँ लिटर पानी संकलन भइरहेको छ, जसले कृषिमा उत्पादन वृद्धि र जल अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान गरेको छ । यसका साथै, विद्यालयहरूमा शौचालय तथा हातधुने संरचना निर्माण, सरसफाइ शिक्षा, तथा समुदायमा व्यवहार परिवर्तनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सेन्टरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत अनुसन्धान र व्यवहारिक कार्यलाई जोड्दै ‘लिभिङ ल्याब’ को रूपमा कार्य गरिरहेको छ ।

अवार्ड प्राप्तिपछि प्रतिक्रिया दिँदै सेन्टरका कार्यकारी निर्देशक श्रीकृष्ण धितालले प्राप्त रकमलाई पुनः खानेपानी तथा सरसफाई तथा दिगो जल व्यवस्थापनका कार्यक्रम विस्तारमा लगानी गर्ने बताए । उनले विकेन्द्रीकृत फोहोर पानी प्रशोधन प्रणाली विस्तार गर्दै विद्यालय र समुदायमा नमूना परियोजनाहरू विकास गर्ने योजना रहेको जानकारी दिए।

हाल करिब १० जना कर्मचारी कार्यरत रहेको यस सेन्टरले किसान, विद्यार्थी तथा युवाहरूलाई तालिम, अनुसन्धान तथा उद्यमशीलतामा समेत जोड्दै आएको छ । मेकानिकल इन्जिनियरिङ पृष्ठभूमिका धिताल काठमाडौं विश्वविद्यालयमा अध्यापनसमेत गर्दै आएका छन् र गाउँमा फर्किएर दिगो विकासको नमूना प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस