काठमाडौं / २७ वर्षीया समीक्षा बरालले आफ्नै स्किन केयर ब्रान्ड ‘सामोइरा’ शुरु गरेकी छन् ।
‘एशियाली छालाका लागि साँच्चै उपयुक्त हुने’ विभिन्न प्रकारका सौन्दर्य प्रशाधनसहितको ब्राण्ड शुरु गरिएको हो । करिब डेढ वर्ष अध्ययन, अनुसन्धान र विभिन्न परीक्षणपछि सन् २०२६ फेब्रुअरीबाट औपचारिक रूपमा यसको सुरूआत गरिएको हो ।
छालाका लागि ’फेसियल क्लिन्जर’, ’सनस्क्रिन’, ’फाउन्डेसन’ र ’बडी वास’ ल्याइएको छ । त्यस्तै, टोनर, क्रिम, सिरम लगायतका सामग्री पनि उत्पादन गरिरहेको छ। यी उत्पादन २४ वर्षभन्दा माथिका महिला तथा पुरूषका लागि तयार पारिएको उनी बताउँछिन् । त्यस्तै, कपालका लागि स्याम्पु र कन्डिसनर उपलब्ध छन् भने मान्छेको जीवनशैलीमा प्रभाव पार्न लुगा धुने डिटरजेन्ट पाउडर बजारमा ल्याएकी छन् । यसबाहेक थप ३५ खालका उत्पादन बजारमा ल्याउने तयारीमा रहेको उनी बताउँछिन्। यसमा साबुन, ह्यान्ड स्यानिटाइजर लगायत पर्छन् ।

ब्रान्ड सुरू गर्ने क्रममा समीक्षाले सौन्दर्य सामग्रीसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन र अनुभवहरू संकलन गरेकी थिइन् । यसका लागि उनी भारत, थाइल्यान्ड, अमेरिका, चीन लगायत विभिन्न देश गएर त्यहाँका उपभोक्ताको प्रतिक्रिया र अनुभव बुझेकी थिइन् । उनले यो अनुसन्धानका लागि भारतका दुई जना साथीको मद्दत पनि लिइन् । उनीहरूकै सहयोगमा करिब एक महिना चीनमा बसेर त्यहाँको बजार बुझेको उनी बताउँछिन् ।
समीक्षाका अनुसार, हरेक मानिसको छालाको प्रकृति फरक हुन्छ । एउटै खालका उत्पादन सबैका लागि सही हुँदैन । खासगरी नेपाली र अन्य दक्षिण एसियाली मुलुकका मानिसहरूको छालामा दाग–धब्बा र डन्डिफोरका दाग तुलनात्मक बढी हुन्छन् । सहरको धुलोधुवाँ, प्रदूषण र गर्मीमा चिटचिट आउने पसिनाले पनि हाम्रो छालालाई असर पारिरहेको हुन्छ । यही कुरा ध्यानमा राखेर नेपालीहरूको छालालाई सुहाउँदो सामग्री उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरेको समीक्षाको भनाइ छ । समीक्षाले नेपाल, भारत लगायत दक्षिण एसियाली देशका मानिसहरूको छालाको प्रकृति अध्ययन गरेर यो ब्रान्ड सुरू गरेको बताएकी छन् ।
नेपाली छाला सुहाउँदो र मध्यम वर्गका उपभोक्ताको आर्थिक क्षमतासँग मिल्ने खालका उत्पादन ल्याउने सोच बनाइन्। आफ्नो नाममा अंग्रेजी शब्द ’औरा’ (आभा) जोडेर ’सामोइरा’ शब्द (क्बmइष्चब) बनाएको र त्यसैलाई ब्रान्डिङ गरेको उनी बताउँछिन्।
नेपालमै पाइने प्राकृतिक कच्चापदार्थहरू मिसाएर यी उत्पादन तयार पारेको उनले बताइन् । हाम्रो छालालाई हानि गर्ने रासायनिक पदार्थहरू प्रयोग नगरिएको भन्दै उनले प्राकृतिक रूपमा पाइने केशर, बदाम, जिंकसिड लगायतका कच्चापदार्थ प्रयोग गरेको बताइन् ।
हाल सामोइराका उत्पादन १ हजार देखि १ हजार ८ सय रूपैयाँसम्मका छन् । वितरणका हिसाबले काठमाडौं उपत्यका, चितवन, झापा, सिन्धुली लगायत ठाउँमा उपलब्ध छन् । सामोइराको आफ्नै अनलाइनमा पनि यी उत्पादन पाइन्छन् । त्यस्तै, फरेभर यङ, दराज लगायतका अनलाइन प्लेटफर्ममा पनि राखिएका छन् । छाला विशेषज्ञहरूले आफ्ना उत्पादन परीक्षण गरेकाले फार्मेसीहरूमा पनि बिक्रीका लागि राख्ने समीक्षाको योजना छ ।

उत्पादनको छोटो समयमै सामोइरा अन्तर्राष्ट्रिय बजार विस्तारमा पनि लागेको छ । भारतको नयाँदिल्लीमा निर्यात सुरू भइसकेको उनले जानकारी दिइन् । समीक्षाका अनुसार, यो कम्पनीले अहिलेसम्म आफ्ना सामग्री चीनमा उत्पादन गर्दै आएको छ। यो वर्षभित्रै लुम्बिनीमा स्किनकेयर उद्योग खोल्ने र त्यसपछि नेपालभित्रै उत्पादन गरेर बिक्री गर्ने उनले बताइन् । उनका अनुसार यो उद्योगमा करिब हजार जनाले रोजगारी पाउने छन् । सामोइरा कम्पनीमा २१ जनाले काम गर्छन् ।
प्लस–टूमा विज्ञान विषय समीक्षाले प्रयोगशालामा विभिन्न रसायनबारे बुझ्दै जाँदा यसमा रूचि बढेको उनी बताइन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ आट्र्सबाट ’मास कम्युनिकेसन’ मा स्नातक गरेकी समीक्षाले सन् २०१८ पछि करिब दुई वर्ष ’काठमाडौं पोस्ट’ मा रहेर पत्रकारिता गरिन् । उनी मानवअधिकार र महिला अधिकारका विषयमा रिपोर्टिङ गर्थिन् ।
पत्रकारिताले मानवअधिकारतर्फ रूचि बढाएपछि उनी सन् २०२० मा अन्तर्राष्ट्रिय राजनीति र मानवअधिकारमा स्नातकोत्तर पढ्न लन्डन विश्वविद्यालय गइन्। त्यहाँ रहँदा उनले वल्र्ड मार्केटिङ डिपार्टमेन्टमा काम गर्दै विभिन्न देशका उत्पादन र बजारबारे अनुभव हासिल गरिन्।सन् २०२३ मा नेपाल फर्किएपछि यही अनुभवलाई आफ्नो व्यवसायमा रूपान्तरण गर्ने निधो गरेको उनी बताउँछिन् ।
व्यवसायसँगै समीक्षा सामाजिक काममा पनि सक्रिय छिन् । सामोइराले आफ्नो नाफाको १० प्रतिशत रकम ’नेतृत्व’ नामक गैरनाफामूलक महिला संगठनलाई दिने गरेको छ । साथै, ’नेपाल युथ फाउन्डेसन’ मार्फत विभिन्न क्षेत्रमा सहयोग पनि गर्दै आएकी छन् ।





प्रतिक्रिया दिनुहोस