कोरोनासँग जुधिरहँदा सुरक्षाकर्मीको मनोबल बढाउँ, एकाध घटनाबाट सबैलाई नमुछौं

हेमन्त मल्ल ठकुरी
२०७७ बैशाख ६, शनिबार मा प्रकाशित ११९३ पटक पढिएको
कोरोनासँग जुधिरहँदा सुरक्षाकर्मीको मनोबल बढाउँ, एकाध घटनाबाट सबैलाई नमुछौं

बैशाख ६, काठमाडौं  । संसार अहिले कोरोनासँग संघर्ष गरिरहेको छ। एक हिसाबले कोभिड-१९ सँगको युद्धमा विश्वका सरकार भिडिरहेका छन्। युद्धको पहिलो मोर्चामा चिकित्सक छन्। उनीहरु रोगबाट संक्रमित मानिसलाई बचाउन लागि परेका छन्। सँगै त्यसको फैलावट रोक्न पनि। युद्ध मैदानमा दोस्रो पङ्तिमा छन् सुरक्षाकर्मी। संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको छ। लकडाउनलाई कार्यान्वयनको तहमा बलियोसँग लैजान प्रहरी परिचालित छ। कोरोनाको कहर कति गहिरो छ भन्ने बुझेका नागरिक स्वयम् सतर्क छन्। तर, सबैले त्यसरी नै आफूलाई बाँधेका छैनन् जसकारण प्रहरी परिचालन गरेर उनीहरुको चलायमान प्रवृत्तिलाई रोक्नु परेको छ। यतिखेर मैदानमा प्रहरी कुनै आन्दोलन दवाउन अथवा सरकारको प्रतिरक्षाका लागि उभिएको होइन। जनताकै ज्यान जोगाउनका लागि हो।

अथाह अभावका बाबजुद संकटको यो घडीमा प्रहरी परिचालन भएको छ। उनीहरुले तारिफ पाएका छन्। तर, यदाकदा केही घटना पनि सामन्ने आएका छन् जसले जनता जोगाउनका लागि चर्को गर्मी सहिरहेका प्रहरीको सिंगो संगठनमा बद्नामको दाग लागिरहेको छ। प्रहरीका गतिविधिमाथि प्रश्न उठिरहेको छ। एक दुई घटनाका कारण सिंगो प्रहरीमाथि प्रश्न खडा भइरहेको छ। एकातिर ताली र अर्कातिर गाली बेहोरिरहेका प्रहरीको काँधमा लकडाउन प्रभावकारी बनाउनुपर्ने जिम्मेवारी जारी नै छ। यतिखेर भएका केही घटनाकै कारण सिंगो प्रहरी संगठन अथवा मेहनतका साथ सडकमा खटिइरहेका प्रहरीको मनबल गिर्नपुग्यो भने त्यो अर्को जोखिमको विषय हुनसक्छ। प्रहरीले आफ्नो आचरण जनोपयोगी बनाउनै पर्छ, त्यसको विकल्प छैन। सँगै प्रहरीले मनबोल पनि बलियो बनाइरहनु आवश्यक छ।

तातो घाममा अरु समयभन्दा धेरै अवधि ड्युटीमा खटिएर काम गरिरहँदा भएका एक दुई घटनाले धेरै प्रहरीको मनोबल खस्किन सक्ने सम्भावना छ। उनीहरुमाथि ‘माथिको आदेश’ छ। उनीहरुको पनि परिवार छन्, त्यहाँ पनि समस्या छ। यी तमाम तनाव एकीकृत हुँदा ड्युटीमा खटिएका एकाध प्रहरी कर्मचारीको व्यवहार अनपेक्षित भएको हुनसक्छ। तर, उनीहरुकै एउटा घटनालाई लिएर सबै प्रहरीमाथि प्रश्न गर्दा बाँकी इमान्दार भएर खट्ने प्रहरीको मनोबलमा कमी नआउला भन्न सकिँदैन। यसको अर्थ गल्ती गर्ने प्रहरी कर्मचारीलाई बचाउनुपर्ने होइन, कारवाही हुनुपर्छ। त्यसैका आडमा काम गरिरहेका संगठनका प्रहरी कर्मचारी लान्छित हुनु चाहिँ कदापी सही हुन सक्दैन।

सरकारले कसैलाई पनि घरबाट बाहिर ननिस्किनु भनेको छ। त्यसको पालना गराउने जिम्मेवारी सुरक्षाकर्मीलाई दिइएको छ। प्रहरी आदेश पालना गर्ने सडकमा उत्रिएका हुन्। सडकमा मानिस कुनै कारणविना निस्किएका रहेछन् भने प्रहरीले कारवाही गर्नै पर्छ। त्यसकारण मानिसहरुको आँखाको तारो प्रहरी बनिरहेका हुन्छन् जबकि प्रहरीको कदम जनताकै सुरक्षाका लागि भइरहेको छ। मानिसहरुले चाहिँ किन लकडाउन उल्लङ्घन गरिरहेका छन् त ? त्यसको कारण के हो ? कसले खोज्ने यसको कारणरु मूल प्रश्न चाहिँ यही हो। मानिसहरुमा पनि कोरोनाको डर छ। उनीहरु खुम्चिएर बसेका छन्। लगातार लकडाउन लम्बिँदो छ। त्यसभित्र उनीहरुका बाध्यता छन्। तिनको व्यवस्थापन नहुने तर प्रहरीलाई चाहिँ बाहिर निस्कन नदेउ भन्ने आदेशले नै परिस्थिति प्रतिकूल बन्ने हो। प्रहरीमाथि प्रतिशोध साँधिनुको मुख्य कारण पनि यही हो। यस अर्थमा अहिले प्रहरी सरकारको निर्णय र जनताको अभावसँग जोडिएको आक्रोशको भुङ्ग्रोमा परिरहेको छ।

दाल, चालम व्यवस्थापनमात्र घर व्यवस्थापन होइन होला। घरमा मानिसको मोबाइल बिग्रियो, इन्टरनेट गयो, बिजुली आएन। के गर्ने ? मानिसलाई तनाव हुन्छ। बाहिर निस्किन नपाएर उसै तनाबमा रहेका हुन्छन् मानिस। निस्किए प्रहरीको फन्दामा परिहालिन्छ। यता प्रहरी तनावमा, उता सर्वसाधारण पनि तनावमा। अनि के हुन्छ ?

प्रहरीलाई अहिले सबैभन्दा ठूलो समस्या काठमाडौंबाट गाउँ फर्किनेहरु बनेका छन्। सरकारसँग प्रस्ट भिजन छैन, के गर्ने। उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना टाढाको कुरा। केन्द्रको निर्देशन स्थानीय तहसम्म पुग्दा म्यासेज एउटा मिनिङ अर्को लागिरहेको छ। केन्द्रले कसैलाई यात्रामा नछोड्नु भन्छ। स्थानीय तहले गाउँ फर्किनेलाई आउन भन्छ। अब प्रहरीले के गर्ने ? छोड्ने कि रोक्ने ? छोडौं केन्द्रको आदेश नमानेको भन्दै कारबाहीमा पर्ने डर। रोकौं, जनस्तरबाटै हुने प्रतिरोधको भय। हिँडेका मानिस आफैँ प्रतिरोधमा उत्रिने सम्भावना छ। किनकि उनीहरु पनि के गरुन् ? बास र गाँसको भर नभएपछि दूरी तय गरिरहेका छन् उनीहरु। केन्द्रको आदेश पालन गर्ने हो प्रहरीले उनीहरुमाथि बल प्रयोग गर्नुपर्छ। बल प्रयोग भयो भने प्रहरी फेरि वदनाम। सयौंको संख्यामा चप्पलको भरमा मानिसहरु हिँडिरहेका छन्, नाकातिर खटाइएका ८/१० प्रहरीले उनीहरुलाई रोकुन् कसरी, राखुन कहाँरु आफैँ सुख्खा चाउचाउको भरमा खटिएका उनीहरुले यसरी आएका मानिसहरुलाई राखुन् कहाँ? सरकारको अदूरदर्शीताको सिकार जनतासँगै प्रहरी पनि भइरहेका छन् अहिले।

हिँडेका भीडमा महिला छन्, बुद्ध छन्, बालबालिका छन्। केही भएर दुर्घटना भए, मृत्यु भए यसको जवाफदेही कोरु मानिसले रोकतोक गर्न बसेको त प्रहरीलाई नै देखेको छ। गाडी चढाएर प्रहरीलाई मानिसहरु पठाउन आदेश छैन। तर, नपठाई रहन पनि सकेका छैनन्। मैदानमा खटिएका प्रहरीले जनताको दुस्ख जति देखेका छन् सिंहदरबारले एकरत्ति देखेको छैन। थियो भने सुरक्षा निकाय र स्थानीय निकायसँगको समन्वयमा सडकबाटै पैदल यात्रा गर्नेको हालत देख्न पर्ने थिएन। यस्तैमा चलेका गाडी दुर्घटना भए तिनमा मानिस परे भने पनि दोष प्रहरीकहाँ नै पुग्छ – किन चढाइस? किन मानिस चढेको गाडी रोकिनस् ?

गृह मन्त्रालय र उच्चस्तरीय समन्वय समिति दुवै सही रुपमा फक्सनमा छैनन् भन्ने अहिलेको हविगतले बयान गरिरहेको छ। गृह मन्त्रालयलाई ओझेलमा पारेको प्रस्ट देखिएको छ। नत्र गाउँ फर्किन जानेलाई प्रहरीले व्यवस्थापन गर्न नसक्ने होइन। प्रहरीको ट्राफिकलाई मात्र व्यवस्थापन गर्न दिए पनि गाउँगाउँ मानिसलाई पुर्‍याउन सकिन्छ। अनि स्थानीय तहले उनीहरुलाई क्वारेन्टाइनमा राखेर घर पठाओस्। समाधानको बाटो सजिलो छ। तर, यसमा जिम्मासँगै आवश्यक स्रोत साधन प्रहरीलाई उपलब्ध गराउनु पर्छ। जब स्रोत साधनको कुरा आउँछ, सरकार पन्छिन्छ।

लकडाउनमा जनता यसरी हिँडेर जानु सबैको लागि नराम्रो हो। सरकार नै नभएको जस्तो देखिएको छ यतिखेर। त्यतिमात्र होइन, अपराधमा पनि यसको असर पर्छ। गाउँ फर्किने सबै राम्रा मान्छे छन् भन्ने के ग्यारेन्टी? भोलि खराब मान्छे भीडमा छिरेर अपराध गर्‍यो भने? समूहमा हिँड्दा बल पुग्छ। तर, बाटोमा एकाध हिँडिरहेका महिला, बालबालिकामाथि कुनै अघन्य घटना भयो भनेरु कसले सोच्नेरु अनि फेरि पनि प्रहरीमाथि नै प्रश्न उठ्छ।

प्रहरी हरेक किसिमले मानिससँग सम्पर्कमा छन्। मानिसहरुलाई रोक्दा, जानकारी लिँदा उसमा संक्रमण सर्ने सम्भावना उत्तिकै हुन्छ। हातमा पञ्जा छैन, मुखमा कपडाको मास्कमात्र छ। ड्युटी नगरे जागिर जाने डर। घरपरिवार के गर्दै होला भन्ने चिन्ता उस्तै। त्यसैले एउटा दुईवटा घटनालाई लिएर सबै प्रहरीलाई दोषको भारी नबोकाऔं। कोरोनासँगको यो युद्धमा जसले जहाँबाट सक्कछ लकडलाउन सफल पारौं, संक्रमित पहिचान छिटो गरौं, संक्रमण फैलन रोक्न सकिने सबै उपाय अवलम्बन गरौं। हाम्रो रक्षाका लागि अहोरात्र खटिएका चिकित्सकहरुलाई सम्मान गरौं, सुरक्षाकर्मीलाई साथ दिऔं। अनि सुरक्षित रहौं।

  • लेखक- हेमन्त मल्ल ठकुरी, पूर्व डीआईजी

प्रतिक्रिया दिनुहोस