पनौती नमोबुद्ध जात्रा

सूर्यप्रसाद लाकोजू
२०७९ भाद्र १०, शुक्रबार मा प्रकाशित ८४३ पटक पढिएको

पनौती नमोबुद्ध जात्रा

भदौ १०, काभ्रे। पनौती नगर जात्रा तथा पर्वहरूले भरिएको धार्मिक एवं सांस्कृतिक नगर हो। यो नगरलाई पहिले पाञ्चालदेश भन्ने गरिन्थ्यो। पाञ्चाल देशमा नमोबुद्धको जन्म भएको थियो। शान्तिका दूत गौतम बुद्धको पूर्वजन्मको कथा ओगटेको यो ठाउ“को धार्मिक दृष्टिकोणले ठूलो महत्व छ।

नमोबुद्धको जात्रा पनौतीको ऐतिहासिक जात्रा हो। यो जात्रा पनौतीका महत्पूवर्ण जात्राहरूमध्ये एक हो। हरेक वर्षको भाद्र कृष्ण त्रयोदशीका दिन यहा“ दुईवटा दीपङ्कर बुद्ध (अजाजु, अजिमा) सहित नमोबुद्धको भव्य जात्रा हुने गर्दछ। भाद्र कृष्ण द्वादशीको दिन (अघिल्लो दिन) सा“झपख नमोबुद्धको प्रतिमा शङ्खु नमोबुद्धबाट पनौतीमा ल्याइन्छ। पनौतीमा ल्याएर त्रिवेणीघाटमा अवस्थित वंशगोपाल (कृष्णमन्दिर) को मन्दिरमा पश्चिमाभिमुख गरी पछाडिपट्टि राखिन्छ। वंशगोपालमन्दिरमा रहेको नमोबुद्धको मूर्तिमा स्थानीय वासिन्दाले पूजाआजा गर्ने, दर्शन गरी फूलप्रसाद ग्रहण गर्ने कार्य गर्दछन्। बेलुकीपख नमोबुद्धको मूर्तिलाई एउटा खटमा राखेर धूपदीप बालेर विभिन्न प्रकारका बाजागाजासहित जात्रा गरी नगरमा भित्र्याईन्छ। त्यसपछि पनौती लायकु डबलीको नजिक रहेको पुलिसपाटीमा राखिन्छ।

भोलिपल्ट त्रयोदशीको दिनलाई पञ्चदान गर्ने दिन भनिन्छ। यो दिन बिहानैदेखि नमोबुद्ध तथा दीपङ्कर बुद्ध (अजाजु अजिमा) को पूजा गर्न महिलाहरूको ठूलो भीड लाग्ने गर्दछ। पूजाआजामा ठूलो चहलपहल हुन्छ। आफ्नो जन्मथलोमा नमोबुद्धको ठूलो सत्कार हुन्छ। बालबालिका, युवा, वृद्ध, महिला सबैको ह्दयमा नमोबुद्धप्रति असीम श्रद्धाको भाव उर्लेर आउँछ। साँझपख नमोबुद्धको भव्य जात्रा हुन्छ। त्यो साँझ अगाडि दुई दीपङ्कर बुद्ध र पछाडि खटमा नमोबुद्ध राखेर नगर परिक्रमा गरी जात्रा गर्ने चलन छ। यो जात्रामा नगरभित्र रहेका प्रचलित सम्पूर्ण बाजाहरू बजाइन्छन्। मानिसहरूको ठूलो भीड लाग्छ। भजनमण्डलीहरू भजन गर्दै आइरहेका हुन्छन् भने अधिकांश मानिसहरू बौद्धस्तोत्र पाठ गर्दै जात्रामा सरिक हुने गर्दछन्। यसरी नमोबुद्धको भव्य जात्रा सकिएपछि नमोबुद्धको देवघरमा नमोबुद्धको प्रतिमालाई लशकुश गरी भित्र्याईन्छ। भोलिपल्ट नमोबुद्धको मूर्तिलाई श†ङ्खुमै लगिन्छ।
पनौती नमोबुद्धको जन्मथलो हो। त्यसैले हरेक वर्ष नमोबुद्धको जात्रा पनौतीमा हुने गर्दछ। नमोबुद्धको मूर्ति शङ्खुमा किन रहन गयो भन्ने बारेमा एउटा मार्मिक पौराणिक कथा छ।

नमोबुद्धको जन्मथलो पनौतीमा यसरी वर्षको एकपल्ट भाद्र कृष्ण द्वादशी र त्रयोदशीको दिन नमोबुद्धको धुमधामसंग बाजागाजासहित नगर परिक्रमा गराई जात्रा गरिन्छ।


प्रतिक्रिया दिनुहोस