सवारी चालक अनुमतिपत्रको आवेदन बन्द

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ११, बिहिबार मा प्रकाशित ७४८ पटक पढिएको
सवारी चालक अनुमतिपत्रको आवेदन बन्द

कात्तिक ११, काठमाडौं। सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन प्रणाली बन्द भएको छ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन प्रणाली खुलेको दुई दिनमै बन्द भएको हो । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरिएको आवेदन यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली सोमबार रातिबाट खुलेको थियो ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएकाले मर्मतका लागि आवेदन प्रणाली बन्द गरिएको बताएको छ । विभागले आज एक सूचना जारी गर्दै सर्भरमा समस्या देखिएपछि बन्द गरिएको जानकारी दिएको छ ।

जारी सूचनामा भनिएको छ,‘यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । प्रणाली मर्मतको कार्य भइरहेको व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।’

नियमित रुपमा फारम भर्न सकिने भनिए पनि प्रणाली बन्द भएको भन्दै सेवाग्राहीले दुखेसो पोखेका छन् ।

प्राविधिक कारणले प्रणाली बन्द भएको विभागले बताएको छ । विभागले लाइसेन्स कार्यालयहरुको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिदै आएको थियो ।

त्यसअनुसार अहिले फारम भरेकाहरुले २०७९ को असारसम्मको ‘एपोइन्मेन्ट’ मिति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस