सुर्यको उपासना गरी आज छठ मनाइँदै

नौलो समाचार संवाददाता
२०८१ कार्तिक २२, बिहिबार मा प्रकाशित १५१ पटक पढिएको
सुर्यको उपासना गरी आज छठ मनाइँदै
तस्वीर श्रोत : सामाजिक सञ्जाल

काठमाडौं / सुर्यको उपासना, पुजा गरी मनाइने पर्व छठ पर्व बिहीबार र शुक्रबार मनाइँदैछ ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वका अनुष्ठान मंगलबारदेखि नै सुरु भए पनि बिहीबार(आज) अस्ताउँदो सूर्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन हुनेछ ।

विशेष गरी तराईका जिल्लाका साथै उपत्यका र वाग्मती प्रदेशको हेटौंडा लगायतका स्थानका पोखरीमा छठ मनाइने गरिन्छ । श्रद्धा, भक्ति र नियम–निष्ठापूर्वक मनाइने छठ मिथिलाञ्चलको पुरानो पर्व हो । तराई–मधेशमा मात्र सीमित छठ पर्व विस्तारै देशभरि फैलिँदैछ । दुई दिन घरमै र दुई दिन जलाशयमा गरी चार दिनसम्म मनाइने छठ पर्व मंगलबारदेखि सुरु भएको थियो ।

व्रतालुले नहाय–खाय(नुहाएर खाना खाने) गरेर मंगलबार छठ पर्वको उपासना सुरु गरेका थिए । छठ पर्वको दोस्रो दिन बुधबार खरना हो । खरनाका दिन व्रतालुले चामल, सक्खर र दुद्यबाट तयार पारिएको खीर प्रसाद भनेर ग्रहण गर्छन् । तेस्रो दिन बिहीबार साँझ जलासयमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालु घर फर्किनेछ भने शुक्रबार एकाबिहानै फेरि जलासयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

संस्कृतिका जानकार रमेशरञ्जन झाका अनुसार छठ पर्वमा जलासयको सजावट नै प्रमुख आकर्षण हुने गरेको छ । ‘छठ अरु पर्वभन्दा फरक छ । पानी, पोखरी, सरोवर, नदीसँग यो पर्व जोडिएको छ,’ झाले भने,‘यसले पनि मानिसमा छठपर्वप्रतिको आकर्षण बढाइदिएको छ । छठपर्वको आकर्षण नै सजावट हो । जल क्षेत्रलाई सज्जाउने र पर्यावरणसंग पनि जोडिएकाले छठ पर्व व्यापक भएको हो ।’

पुत्र, पति र परिवारको कल्याण तथा पृथ्वीमा पर्याप्त प्रकाश छरेको भन्दै सूर्यलाई धन्यवाद दिनु छठ पर्वको महत्व हो । कात्तिक शुक्ल षष्ठी र चैती गरी छठ पर्व वर्षमा दुई पटक मनाइन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको मान्यता छ ।

प्रतिक्रिया दिनुहोस