धुलिखेल/ धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रले स्थानीय सरकार, नीजि क्षेत्र र सरकोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ ।
नमूना रोजगार केन्द्रको रुपमा सञ्चालन भइरहेको सेवा केन्द्रले सरोकारवालाहरुलाई कार्यक्रम, यसको कार्यक्षेत्रबारे जानकारी दिँदै सहकार्य, समन्वयका विभिन्न आयामबारे जानकारी गराएको हो ।
नगर प्रमुख अशोकुमार व्याञ्जू श्रेष्ठले स्वरोजगारको अधार तय गर्न भन्दै शुरु गरिएको कार्यक्रमको प्रारुप नै परिवर्तन गर्न आवश्यक रहेको तर्क गरे । धुलिखेलमा विभिन्न परिषद्मार्फत १ हजार ८ सय जनालाई सिपयुक्त बनाएको भन्दै ती मध्ये करिब ८ सय स्वरोजगार भएको दाबी गरे । दिगो विकास लक्ष्यका सूचकहरु पुरा गर्दै गएको तर्क गर्दै उनले गरिबी शून्य भएको शहर बनाउन काम गरिएको बताए । धुलिखेलका ठूला होटलहरुलाई रोजगारीको ३० प्रतिशत धुलिखेलवासीलाई दिन अनुरोध गर्दै त्यसो गरिए करमा १० प्रतिशत छुट दिने पहिलेको घोषणा कार्यान्वयनमा जाने बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक रहेका सहसचिव डन्डुराज घिमिरेले आगामी बर्ष कार्यक्रमको स्वरुप केही परिमार्जन हुन लागेको बताउँदै स्थानीय तहलाई एकमुष्ट अनदान दिएर स्थानीय आवश्यकताका आधारमा कार्यक्रम परिमार्जन गर्दै रोजगारी सिर्जना र दक्षता बृद्धि गर्ने खालका कार्यक्रम गर्न पाउने व्यवस्था गर्न लागेको बताए । उनले यसको प्रभावकारीता र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीले रोजगार कार्यक्रममार्फत सानो बजेटमा प्रभावकारी काम भएको तर्क गर्दै नगरपालिकाले थप बजेट व्यवस्थापन गरेको बताए ।
रोजगार विज्ञ अशोक रेग्मी र विद्यासागर पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नगरपालिकाका रोजगार संयोजक सम्झना शर्मा नेपालले बेरोगार सूचिकरण, छनोट प्रकृया र पारिश्रमिक लगायतका बिषयमा जानकारी गराइन् ।
कार्यक्रममा उपप्रमुख निराजन जंगम, वडाअध्यक्ष लगायत जनप्रनिनिधी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतका सञ्चारकर्मी धुलिखेल उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस