कञ्चनचन्द्र बादे : नेविसंघ सदस्यदेखि उद्योग राज्यमन्त्री हुँदै सामाजिक विकास मन्त्री

नौलो समाचार संवाददाता
२०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित ६८० पटक पढिएको

कञ्चनचन्द्र बादे :  नेविसंघ सदस्यदेखि उद्योग राज्यमन्त्री हुँदै सामाजिक विकास मन्त्री

बनेपा / प्रजातन्त्र सेनानी बाबु गोपालदास बादे र आमा चिनिमाया बादेको कोखबाट २०२४ साल बैशाख ८ जन्मिएका कञ्चनचन्द्र बादे २०३६ को जनतसंग्रहकै ताका राजनीतिमा सकृय भइसकेका थिए । वीपी कोइराला, गणेशमान सिंहका समकक्षी राजदास बादेको प्रेरणाले राजनीतिमा होमिएका बादे १५ बर्षको उमेरमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भइसकेका थिए । २०४४ सालमा नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकको कोषाध्यक्ष बनेका बादेले २०४७ सालमा नेविसंघको जिल्ला सभापति बनेर नेविसंघ काभ्रेलाई नेतृत्व प्रदान गरेका थिए । नेविसंघसँगै बनेपाको राजनीतिमा होमिएका उनी २०५१ र २०५८ मा गरी २ पटक नेपाली कांग्रेस बनेपाको नगर सभापति भए । २०५८ सालमा नेपाल तरुण दलको जिल्ला अध्यक्ष बनेका बादे २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य भएका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका संस्थापक अध्यक्ष रहेका बादे २०६४ सालमा नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष भएका थिए । २०५७ मा भएको पार्टीको १० औँ र २०६१ मा भएको ११ औँ महाधिवेशनमा उनी महासमिति सदस्य समेत भएका थिए । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा काभ्रे क्षेत्र नं ३ को सभापति भएका बादे १४ औँ महाधिवेनशनबाट वाग्मती प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन् । २०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी भएका उनले २०६२/०६३ सालको जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गरेका थिए ।

बादेलाई स्थानीय निकायको पनि अनुभव छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको तर्फबाट बनेपा नगरपालिकाको उपमेयर निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा एमाले काभ्रेका अध्यक्ष गोकुल बास्कोटालाई पराजित गरेर संविधानसभा सदस्य निर्वाचित भएका थिए । सो समयमा उनी उद्योग राज्यमन्त्री भएर काभ्रेको विकासमा उल्लेखनीय योगदान गरेका छन् ।

सामाजिक कृयाकलापमा पनि उत्तिकै सकृय उनी काभ्रे जेसीजको सन् २००७ मा अध्यक्ष बनेका थिए । सन् २००६ मा रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्ष बनेर नेतृत्व प्रदान गरेका बादे नेपाल बाल संगठन काभ्रे, नेपाल परिवार नियोजन संघ लगायतका सामाजिक संघसंस्थामा पनि उत्तिकै कृयाशिल छन् । बनेपा, पनौती र धुलिखेललाई खानेपानी खुवाउने उद्धेश्यले सञ्चालन भएको काभ्रे उपत्यका खानेपानी आयोजना स्टेरिङ कमिटीको सदस्य भएर पनि काम गरेका थिए । व्यवसायिक रुपमा यातायात क्षेत्रमा लगानी गरेका बादे अरनिको यातायात सेवा समितिका पुर्व कोषाध्यक्ष समेत हुन् ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा भने पराजित भएका उनी २०७९ मा लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट प्रतिनिधी सभा २ अन्तर्गतको प्रदेश सभा ख मा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रहेका उनी शुक्रवार समाजिक विकास मन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस