भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख टंकप्रसाद (टि.पी.) शर्मा तिमल्सिनाको निधन भएको छ ।
गत साउन १० गते सवारी दुर्घटनामा गम्भीर घाइते भएर ६० दिनदेखि धुलिखेल अस्पतालमा उपचाररत शर्माको उपचारकै क्रममा मंगलबार विहान ४ बजे निधन भएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको दुई पटक मस्तिष्कको शल्यक्रिया भएको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित उनी पार्टीका नगर कमिटीका पूर्व अध्यक्ष समेत हुन् । स्थानीय तहको निर्वाचन अघि उनी तत्कालीन काशिखण्ड, दाप्चा काशिखण्ड (हालको नमोबुद्ध नगरपालिका) मा एमालेको तर्फबाट दलीय संयन्त्र प्रतिनिधी समेत थिए ।
पत्रकारिता र साहित्यमा संलग्न उनी नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका पूर्व सदस्य समते हुने ।
उनको निधनमा दुख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले शोक विज्ञप्ति जारी गर्दै काभ्रेली पत्रकारिता क्षेत्रमा उनको योगदान सदा स्मरणीय रहने जनाएका छन् ।
शर्माको मंगलबार नै जगवैजेश्वर घाट, भकुण्डेवेशीमा दाहसंस्कार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस