जनप्रतिनिधि आक्रमणप्रति कांग्रेसले गर्यो भत्सर्ना, माओवादी केन्द्रले गर्यो बचाउ

नौलो समाचार संवाददाता
२०८२ बैशाख १५, सोमबार मा प्रकाशित १३९ पटक पढिएको
जनप्रतिनिधि आक्रमणप्रति कांग्रेसले गर्यो भत्सर्ना, माओवादी केन्द्रले गर्यो बचाउ

नमोबुद्ध / नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का जनप्रतिनिधि रहेका कांग्रेस वडा सभापति कान्छामान तामाङमाथि भएको आक्रमणको नेपाली कांग्रेसले भत्सर्ना गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे, प्रतिनिधी सभा क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, नगर र वडा कार्यसमितिले विज्ञप्ति जारी गरेर दोषीमाथि कारबाही माग गरेका हुन् ।

नेकपा माओवादी केन्द्र नमोबुद्ध नगर कमिटीका सचिव एक्सन भनिने पूर्णमान लामाले वडा नम्बर ९ का सदस्य रहेका कान्छामान तामाङलाई वैशाख १३ गते मरासन्न हुनेगरी कुटपिट गरेका थिए ।विकास निर्माणसँग सम्बन्धित सामान्य विवादमा उनले सो वडाका जनप्रतिनिधि रहेका कान्छामानलाई हेल्मेट र मुक्का प्रहार गरी घाइते बनाएका थिए । टाउको, घाँटी र शरीरका विभिन्न भागमा चोट रहेका उनी अझै अचेत रहेको कान्छामानको उपचार थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ ।

जिल्ला सभापति तीर्थ लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय कार्य भएकाले दोषी उपर हदैसम्मको कारबाही माग गरिएको छ ।

प्रतिनिधी सभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामाले जारी गरेको विज्ञप्तिमा जनप्रतिनिधिमाथि सांघातिक आक्रमण गर्ने जो कोहीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित प्रशासनको ध्यानाकर्षण गरिएको छ ।

प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ (ख) का सभापति चन्द्रबहादुर लामाले जारी गरिएको विज्ञप्तिमा उक्त निन्दनीय र अपराधिक घटनाबाट देश र समाजको शान्ति, अमनचयनमा खलल पु¥याउने, सामाजिक सद्भाव भड्काउने र व्यक्तिको शान्तिपूर्वक बाँच्न पाउने अधिकार बाट वञ्चित हुने र समाज जहिले पनि भयभित, त्रसित हुने भएकाले उक्त घटनामा संलग्न व्यक्तिलाई छानबिन गरी कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।

नमोबुद्ध नगर कार्यसमितिका सभापति कुनसाङ लामाले जारी गरेको विज्ञप्तिमा यस्ता अपराधिक क्रियाकलापमा संलग्न कुनै पनि व्यक्ति वा समूहलाई उन्मुक्ति दिएको खण्डमा पार्टी लोकतान्त्रिक संघर्षमा उत्रन बाध्य हुने उल्लेख छ ।

नेपाली कांग्रेस नमोबुद्ध वडा नम्बर ९ कार्यसमितिले जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न जोसुकै भएतापनि निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गरिएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल, नेपाल आदिवासी जनजाति महासंघले पनि विज्ञप्ति जारी गर्दै घाइते सभापति कान्छामान तामाङको स्वास्थ्य लाभको कामनासहित दोषी उपर कारबाही माग गरेका छन् ।

यता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जिल्ला, नगर र वडा कमिटीले पनि विज्ञप्ति जारी गर्दै घटनालाई अनावश्यक ‘राजनीतिक रङ’ दिन खोजिएको भन्दै बचाउ गरेको छ ।

जिल्ला संयोजक भोला अर्याल, नगर अध्यक्ष रामकृष्ण उपाध्याय र वडा कमिटी अध्यक्ष प्रेमबहादुर लामाले जारी गरेको विज्ञप्तिमा ‘दुवै पक्षको उपस्थितिमा छलफलबाट यी र यस्ता घटना फेरि नदोहोरिने गरी सर्वपक्षीय भेलाबाट घटनालाई उचित निकास दिन’ माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस