खानीखोला / काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको छ ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, प्रमुख प्रशासकीय अधिकृत जिवनराज अर्याल, लेखा प्रमुख प्रकाश कोइराला, सामाजिक समितिका संयोजक रहेका चार नम्बर वडा अध्यक्ष निशान मोक्तान, अन्य सबै वडाका अध्यक्षहरू, वडागत स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्यकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थितीमा गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम पुकार यादवका अनुसार, खानीखोलामा लक्षित समूहका सबै बालबालिकालाई निर्धारित तालिका अनुसार खोप उपलब्ध गराइएको छ ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ ले स्थानीय तहको नेतृत्व, समुदायको सक्रिय सहभागिता र स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले आज हामी पूर्ण खोप सुनिश्चित भएको बताए । खोप पहुँचबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
स्थानीयले पूर्ण खोप सुनिश्चित भएसंगै नागरिकको स्वास्थ्यमा विश्वास र आत्मविश्वास थपेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस