रोशी गाउँपालिकामा बालबालिकालाई पूर्ण खोप सुनिश्चित

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित ११७ पटक पढिएको
रोशी गाउँपालिकामा बालबालिकालाई पूर्ण खोप सुनिश्चित

रोशी / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषित भएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमले रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

रोशी गाउँपालिकामा १५ महिना मुनिका बालबालिका २ सय २७ जना र १५ देखि ५९ महिनाका ९ सय ८३ जनाले पूर्ण खोप पाएको सुनिश्चित भएपछि पालिका घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले स्वास्थ्य नै विकासको आधारमा भएको भन्दै स्वस्थ्य हुनको लागि खोप अनिवार्य भएको बताए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले बालबालिकाले पाउनुपर्ने खोप पाएका कारण मृत्युदरमा कमि आएको बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्वास्थ्य क्षेत्रलाई सधै प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट तय गर्दै आएको तर्क गर्दैै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले पूर्ण खोप सुनिश्चिततासंगै यसको दिगोपनामा जोड दिने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले पूर्ण खोप सुनिश्चितता घोषणाको लागि फागुन महिनादेखि सर्वेक्षणमा लागि परेको बताए ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप निरिक्षक पार्थमणी न्यौपानेले स्वस्थ नागरिक स्वस्थ बनाउनको लागि पूर्ण खोप सुनिश्चित हुनुपर्ने बताए । जिल्लाको बेथानचोक र चौरीदेउराली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेपछि जिल्लालाई नै घोषणा गरिने उनले बताए ।

नेपाली कांग्रेस रोशी गाउँपालिका सभापति दुधराज तामाङले पूर्ण खोप सुनिश्चित घोषणा गर्न स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस