धुलिखेल– काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहको दोस्रो चरणमा १ हजार १ सय २९ विद्यार्थी दीक्षित हुने भएका छन् ।
जेठ ३० गते शुक्रबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने दीक्षान्त समारोहमा स्कुल अफ आर्टस्, मेडिकल साइन्सेज, इञ्जियिरिङ, साइन्स लगायतमा विभिन्न तह उतीर्ण विद्यार्थी दीक्षित हुनेछन् ।
स्कुल अफ आट्र्सका १ सय ६३ जना, स्कुल अफ एजुकेसनका १ सय २ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका १ सय १० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६ सय ६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित हुनेछन् विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् । पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना सोही समारोहमा दीक्षित हुनेछन् । यो पटक दीक्षित मध्ये छात्रको प्रतिशत ५० दशमलव ९३ प्रतिशत र छात्राको प्रतिशत ४९ दशमलव ०७ प्रतिशत छ । १ सय १८ जना विदेशी विद्यार्थी दीक्षित हुने छन् ।
काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत Doctor of Philosophy in Geomatics Engineering मा १ जना, स्कुल अफ मेनेजमेन्ट अन्तर्गत Bachelor of Professional Hospitality मा २० जना र स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत Doctor of Medicinae in Critical Care Medicine मा १ जना, Doctor of Medicinae in Pulmonary Critical Care and Sleep Medicine मा १ जना, MSc in Community Health Nursing मा १ जना, MSc in Psychiatric Nursing मा २ जना र Master of Physiotherapy in Musculoskeletal Physiotherapy मा ५ जनालाई उपाधि प्रदान गरिनेछ ।
तीसौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६ सय ६० जना (११ दशमलव ८३ प्रतिशत) विदेशी विद्यार्थी छन् ।
जसमा स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने चान्सलर पदक स्कुल अफ एजुकेसनका दयाराम सिंखडा, स्नातक तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने भाइस चान्सलर स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका एजल सुखजू, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका कृष्णबाबु भट्टराईलाई प्रदान गरिनेछ । यस्तै रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेडिकल साइन्सेजका सुयस तिमल्सिनालाई, महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनका युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदक स्कुल अफ स्कुल अफ मेनेजमेन्टका एजल सुखजुलाई दिइनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघुजी पन्तको समुपस्थितिमा हुने कार्यक्रममा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारले दीक्षान्त भाषण गर्नेछन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा अच्युत वाग्लेले समारोहको सबै तयारी पूरा भएको र यसपटकको सिनेट बैठकले धुलिखेल अस्पतालसँगको सहकार्यको नयाँ आयाम सुरु गर्ने वताए ।
प्रतिक्रिया दिनुहोस