काठमाडौं विश्वविद्यालयमा १ हजार १ सय २९ विद्यार्थी दीक्षित

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ८५ पटक पढिएको
काठमाडौं विश्वविद्यालयमा १ हजार १ सय २९ विद्यार्थी दीक्षित

धुलिखेल– काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहको दोस्रो चरणमा १ हजार १ सय २९ विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा भएको दीक्षान्त समारोहमा स्कुल अफ आट्र्सका १ सय ६३ जना, स्कुल अफ एजुकेसनका १ सय २ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका १ सय १० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६ सय ६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भएका हुन् । पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना सोही समारोहमा दीक्षित भएका छन् । दीक्षित मध्ये छात्रको प्रतिशत ५० दशमलव ९३ प्रतिशत र छात्राको प्रतिशत ४९ दशमलव ०७ प्रतिशत छ । १ सय १८ जना विदेशी विद्यार्थी दीक्षित भएका छन् ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत डक्ट्रेट अफ फिलोसोफी इन जियोम्याटिक्स इञ्जिनियरिङ मा १ जना, स्कुल अफ मेनेजमेन्ट अन्तर्गत व्याचलर अफ प्रोफेसनल हस्पिटालिटीमा मा २० जना र स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत डक्ट्रेट अफ मेडिसिन इन क्रिटिकल केयर मेडिसिनमा मा १ जना, डक्ट्रेट अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन मा १ जना, एमएस्सी इन कम्युनिटी हेल्थ नर्सिङमा १ जना, एमएस्सी इन साइक्याट्रिक नर्सिङमा २ जना र मास्टर्स अफ फिथियोथेरापी इन मस्कुलोस्केलेटल फिजियोथेरापीमा मा ५ जनालाई उपाधि प्रदान गरिएको छ ।

स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने चान्सलर पदक स्कुल अफ एजुकेसनका दयाराम सिंखडा, स्नातक तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने भाइस चान्सलर स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका एजल सुखजू, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका कृष्णबाबु भट्टराईलाई प्रदान गरिएको छ । यस्तै रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेडिकल साइन्सेजका सुयस तिमल्सिनालाई, महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनका युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदक स्कुल अफ स्कुल अफ मेनेजमेन्टका एजल सुखजुलाई प्रदान गरिएको छ ।

तीसौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्म काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६ सय ६० जना (११ दशमलव ८३ प्रतिशत) विदेशी विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस