धुलिखेल / राजनीतिक रूपमा तटस्थ रहनुपर्ने संवैधानिक मान्यता विपरित सभामुख डोलप्रसाद (डिपी) अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टी सभापति रवि लामिछानेको खुलेर प्रशंसा गरेका छन् ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्न धुलिखेल आएका सभामुख अर्यालले आफ्नो लिखित मन्तव्य वाचन गरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टी सभापति रवि लामिछानेको प्रशंसामा खर्चिएका हुन् ।
सभामुख अर्यालले सभापति रवि लामिछानेको जिल्ला भएको कारण काभ्रेप्रति आफ्नो विशेष लगाव भएको भन्दै ४ बर्षअघि राजनीतिमा आएपछि पार्टी सभापति रवि लामिछानेको साथ र उनको देश बनाउने हुटहुटीमा इट्टा थप्ने प्रयास गरेको बताए ।
आफूले राजनीतिक भाषण गर्न नखोजेको तर्क समेत गरेका सभामुख अर्यालले विगतमा जनताले सरकार, न्यायालय र कानुन निर्माणको क्षेत्रमा राज्यको उपस्थिति महसुस गर्न नपाएको टिप्पणी गर्दै ६७ वर्षपछिको इतिहासमा एउटै पार्टीले दुई तिहाइ ल्याएर सरकार चलाएको अवस्थामा देश विकास र समृद्ध हुने तर्क गरे । ‘जनताले राज्य र सरकार मेरो लागि छ भन्ने महसुस गर्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यूले निरन्तर रूपमा प्रयास गरिरहनुभएको छ र जनतालाई डेलिभरी दिन खोजिरहनुभएको छ ।’ अर्यालले भने ।
सभामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका (संसद्) को गति र भावना (स्पिड र स्प्रिट) मिल्दै गइरहेको दाबी समेत गरे ।
प्रतिक्रिया दिनुहोस