काभ्रेपलाञ्चोक / प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संघीयताको वास्तविक परीक्षण सिंहदरबारमा नभई स्थानीय तहको सेवा प्रवाहमा हुने बताएका छन् ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले संविधानले स्थानीय सरकारलाई प्रदान गरेका अधिकार, जिम्मेवारी र अवसरहरूलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा रूपान्तरण गर्नु आजको साझा दायित्व भएकाे तर्क गरे । संघीय संसद स्थानीय सरकारका अनुभव, सुझाव र आवश्यकताप्रति सदैव संवेदनशील रहेको स्पष्ट पार्दै उनले संसदले निर्माण गर्ने कानुनहरूको अन्तिम सफलता स्थानीय तहको प्रभावकारी कार्यान्वयनमा नै निर्भर रहने उल्लेख गरे ।
संविधान जारी भएको एक दशक पूरा हुन लागेको ऐतिहासिक घडीमा नेपाल संघीयताको अभ्यासलाई थप परिपक्व, उत्तरदायी र परिणाममुखी बनाउने चरणमा प्रवेश गरेको तर्क गर्दै उनले संघीयताको सफलता कागजमा लेखिएका अधिकारबाट मात्र सम्भव नहुने भन्दै ती अधिकारहरूले जनताको जीवनमा ल्याएको परिवर्तन नै यसको मुख्य मापक भएको स्पष्ट पारे । सभामुख अर्यालले संविधानको धारा २३२ बमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त नै संघीय शासन प्रणालीको मुख्य आधारस्तम्भ भएको उल्लेख गर्दै यी मूल्यहरूको सफल अभ्यासले मात्र संघीयतालाई दीर्घकालीन रूपमा बलियो बनाउने बताए ।

जिल्ला समन्वय समितिको भूमिका र औचित्यबारे भइरहेका लोकतान्त्रिक बहसहरूलाई स्वाभाविक रूपमा लिँदै सभामुख अर्यालले वर्तमान अवस्थामा संविधानले दिएको भूमिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु नै प्राथमिक दायित्व भएको बताए । स्थानीय तहहरूबीचको समन्वय, सरकारी आयोजनाहरूको अनुगमन, विपद् व्यवस्थापन र असल अभ्यासहरूको आदानप्रदानका लागि जिल्ला समन्वय समितिको भूमिकालाई समयानुकूल थप सुदृढ र परिणाममुखी बनाउन आवश्यक रहेकोमा जोड दिए ।
सुशासनलाई आजको सबैभन्दा ठूलो जनअपेक्षाका रूपमा चित्रण गर्दै लोकतन्त्र केवल निर्वाचनबाट मात्र नभई पारदर्शिता, जवाफदेहिता र इमानदारीबाट सुदृढ हुने भन्दै पछिल्लो समय विशेषगरी युवापुस्ताले सुशासनका लागि उठाएका आवाजहरूले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्वपूर्ण प्रेरणा दिएको उल्लेख गरे ।

काभ्रेपलाञ्चोक जिल्ला कृषि, पर्यटन, शिक्षा र संस्कृतिको अपार सम्भावना बोकेको क्षेत्र भएको चर्चा गर्दै सभामुख अर्यालले यहाँका स्थानीय तहहरूले स्वास्थ्य, डिजिटल सुशासन, जलवायु अनुकूलन र कृषि नवप्रवर्तनका क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरे । विकासका उत्कृष्ट अभ्यासहरू प्रतिस्पर्धाका नभई साझेदारी र सिकाइका विषय हुनुपर्ने र एक पालिकाको असल अभ्यास अर्को पालिकाका लागि प्रेरणा बन्नुपर्ने उनले बताए ।
कार्यक्रममा सभामुख अर्यालले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तह, विपद व्यवस्थापनमा सहयोग गर्ने जिल्ला सुरक्षा समिति र प्रतिनिधी सभा सदस्य निर्वाचित मधुकुमार चौलागाई, बदनकुमार भण्डारी र राम लामालाई सम्मान गरे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमले विपदबाट प्रताडित काभ्रेपलाञ्चोक विपदमा लागेको हिलो सफा गर्दै अघि बढेको तर्क गर्दै जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोक, दिगो समृद्धिको साझा अभियानसहित अघि बढ्ने बताए।
प्रतिक्रिया दिनुहोस