माओवादी केन्द्र नमोबुद्धका सचिव लामाले वडा सदस्य कुटे

कार्वाही माग गर्दै प्रहरीमा उजुरी
नौलो समाचार संवाददाता
२०८२ बैशाख १४, आईतबार मा प्रकाशित १६९९ पटक पढिएको
माओवादी केन्द्र नमोबुद्धका सचिव लामाले वडा सदस्य कुटे
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नमोबुद्ध नगरपालिका वडा नं ९ का वडा सदस्य कान्छामान तामाङ । नेकपा माओवादी केन्द्र नमोबुद्ध नगर कमिटीका सचिव एक्सन भनिने पूर्णमान लामाले उनलाई अचेत हुने गरी निर्घात कुटपिट गरेका थिए ।

गहते / नेकपा माओवादी केन्द्र नमोबुद्ध नगर कमिटीका सचिव एक्सन भनिने पूर्णमान लामाले वडा नम्बर ९ का सदस्य कान्छामान तामाङलाई मरासन्न हुनेगरी कुटपिट गरेका छन् ।

विकास निर्माणसँग सम्बन्धित सामान्य विवादमा उनले सो वडाका जनप्रतिनिधि रहेका कान्छामानलाई हेल्मेट र मुक्का प्रहार गरी घाइते बनाएका थिए । टाउको, घाँटी र शरीरका विभिन्न भागमा चोट रहेका उनी अझै अचेत छन् । थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

घटना अनुसार, सडक खन्ने विषयमा पूर्णमानका बाबु सूर्यमानसँग सो वडाका जनप्रतिनिधि रहेका कान्छामानसँग वैशाख १२ गते सामान्य विवाद भएको थियो । भोलिपल्ट कान्छामान मकै पेल्न भनेर मिल गएका थिए । मिलमा केही समय लाग्ने देखेर स्थानीय कर्म वाङ्गेल लामाको घर अगाडि मासु भाग लगाइरहेको ठाउँमा बसिरहेका बेला हातमा हेल्मेट लिएर आएका पूर्णमानले पछाडीबाट कान्छामानलाई टाउकोमा र शरीरका विभिन्न भागमा प्रहार गरेका थिए । अचेत रहेका कान्छामानलाई वडा अध्यक्ष वीरबहादुर लामा र स्थानीयको सहयोगमा अस्पताल पु¥याइएको थियो।

दोषीमाथि कडा कारबाहीको माग गर्दै कान्छामानको परिवारले ‘ज्यानै मार्ने नियत’ले आक्रमण भएको भन्दै मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी समेत दिएको छ ।

नेपाली कांग्रेस वडा नम्बर ९ का सभापति समेत रहेका कान्छामानलाई भएको आक्रमणको विरुद्धमा पार्टीले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामाले जारी गरेको विज्ञप्तिमा दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।

नमोबुद्ध नगरपालिका वडा नम्बर ९ ले पनि विज्ञप्ति जारी गरेर आफ्ना वडा सदस्यलाई न्याय दिन र उपचार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै त्यसो नभए जनप्रतिनिधि असुरक्षित हुँदासम्म वडा कार्यालयबाट दिने सेवा बन्द हुने चेतावनी समेत दिएको छ ।

नेपाली कांग्रेस वडा नम्बर ९ कार्यसमिति लगायत पार्टीका विभिन्न संरचना, भातृ संगठनले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले जाहेरी दर्ता भएको र कुटपिटमा संलग्नको खोजी थालिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस