पनौती घटना: कर्फ्यू लगाएर स्थिति नियन्त्रणमा, सहमतिका लागि प्रशासनमा वार्ता जारी

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित ७८३ पटक पढिएको
पनौती घटना: कर्फ्यू लगाएर स्थिति नियन्त्रणमा, सहमतिका लागि प्रशासनमा वार्ता जारी

चैत ४, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारका केही क्षेत्रमा मंगलबार विहान ९ बजेदेखि जारी गरेको अनिश्चितकालीन  कर्फ्यू आदेश अझै यथावत छ । पनौती बजार अहिले पनि सुनसान रहेको छ ।

जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र प्रशासनविच अहिले वार्ता जारी रहेको छ । तर सहमती भने हुन सकेको छैन । मृतक जुनीमाया तामाङ र उनकी ३ वर्षीया छोरीको शब बनेपास्थित शिर मेमोरयिल अस्पतालमा राखिएको छ भने शब परिक्षण हुन सकेको छैन ।

पनौती बसपार्कको पूर्वतर्फ सुन्थान जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण ढुंखर्कतर्फ जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यू आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबारको घटनालाई लिएर मंगलबार पनि परिस्थिति असहज बन्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

काभ्रेको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न बा ५ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्री खानीखोला गाउँपालिका वडा नम्बर १ स्थित श्री कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक ३३ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षिया छोरी स्मारिकाको  दुवैको घटनास्थलमा मृत्यु भएको थियो ।

स्थानीय र आफन्तले टिपर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेपछि पनौती सोमबार बेलुका पनि तनावग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि भन्दै गोली नै चलाएको थियो ।

प्रर्दशनका क्रममा ६ जना प्रहरी र दुई जना प्रर्दशनकारी घाइते भएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाइ फाएर र १७ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रर्दशनकारीले पनौतिमा रहेको प्रहरी बिट तोडफोड गरेका छन् । घाइते हुनेमा प्रहरीका सई बिरेन्द्र शाह, हवल्दार मिन बहादुर थापा, दिलिप बुढाथोकी र सुनिता घिमिरे, प्रहरी जवान नवराज भारती र ललित थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

प्रर्दशनकारी तर्फ सञ्जय चौधरी, हर्क बहादुर ग्याबा, जीव राज तामाङ र सरत तामाङ घाइते भएका छन् । घाइते सबै बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।  टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस