साँझ ५ बजेदेखि बी.पी. राजमार्गमा यात्रुवहाक सवारीसाधन चलाउन रोक

नौलो समाचार संवाददाता
२०८२ अषाढ ३१, मंगलबार मा प्रकाशित ४३६ पटक पढिएको

साँझ ५ बजेदेखि बी.पी. राजमार्गमा यात्रुवहाक सवारीसाधन चलाउन रोक
वर्षापछि कटान र लेदोको कारण बीपी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि भकुण्डेबेसीमा नै रोकिएका सवारी साधनहरू ।

धुलिखेल / विपदको सम्भावित जोखिम न्यूनीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बी.पी. राजमार्गमा साउन १ गतेदेखि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म यात्रुवहाक सवारीसाधन चलाउन रोक लगाएको छ ।

बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सो अवधीमा यात्रुवाहक निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाएको सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि सोही व्यहोराको सूचना प्रकाशित गरेको छ ।

बी.पी. राजमार्र्गमा ग्रामिण सडकबाट बगेको लेदो र बर्षाका कारण डाइभर्सन समेत कटान भएर हरेक दिन राजमार्ग अवरुद्ध हुन थालेपछि दुवै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाउँदै आएको थियो ।

गत असोज १० देखि १२ गतेको बाढीका कारण वी.पी. राजमार्गको नेपालथोक–भकुण्डेबेशी खण्डमा बढी क्षति पुगेको छ । वी.पी.राजमार्ग हुँदै पूर्वी नेपाल तथा मध्य तराईका जिल्लाका साथै सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, ओखलढुंगा लगायतका जिल्लासम्म सवारी साधनहरू आवतजावत हुँदै आएको भएपनि गत असोजको बाढी र पहिरोको कारण राजमार्गमा क्षति भएपछि प्रभावित हुँदै आएको छ । अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ ।






प्रतिक्रिया दिनुहोस