जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सञ्चारकर्मीमार्फत सार्वजनिक गर्याे बार्षिक प्रगति प्रतिवेदन

नौलो समाचार संवाददाता
२०८२ अषाढ २६, बिहिबार मा प्रकाशित ४९७ पटक पढिएको

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सञ्चारकर्मीमार्फत सार्वजनिक गर्याे बार्षिक प्रगति प्रतिवेदन

धुलिखेल / जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सञ्चारकर्मीमार्फत आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिहिबार जिल्ला समन्वय समितिको हलमा कार्यक्रम आयोजना गरेर प्रशासनले चालु आर्थिक बर्षमा भएका कृयाकलापका साथै शान्ती सुरक्षा र विपद व्यवस्थापनमा भएका गतिविधीबारे जानकारी गराएको हो ।

सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, नावालक परिचयपत्र, मुद्दा, संघ संस्था तथा हतियार, दलित, जनजाति परिचयपत्र, अनुगमन, निरिक्षण, राहत वितरण, राजस्व र खर्च विवरणबारे प्रस्तुत गरेका थिए ।उनका अनुसार, नयाँ नागरिकता ९ हजार २ सय ५९ वटा, प्रतिलिपि नागरिकता ९ हजार ८ सय ४५ जनालाई जारी भएको छ भने ७१ जनाले परित्याग गरेका छन् । ६७ जनालाई गैह्र आवासीय नागरिकता प्रदान गरिएको छ भने १० वटा नागरिकता रद्ध र २ जनालाई अंगिकृत नागरिकता प्रदान गरिएको छ । राष्ट्रिय परिचयपत्रका लागि २७ हजार १ सय ९६ आवेदन विवरण जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् भने १४ हजार ७ सय ४८ परिचय पत्र कार्ड वितरण गरिएको छ । दर्ता भएका ७४ मुद्दामध्ये ४१ फछ्र्यौट भएका छन् भने ३ सय ४३ ठाडो उजुरी मध्ये ३ सय ३१ फछ्र्यौट भएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले विपद अति प्रभावित जिल्ला काभ्रेपलाञ्चोकमा विपद प्रतिकार्य योजनाका साथै जोखिम न्युनिकरणको लागि बैठक, छलफल, समन्वय र तयारी तिव्र पारिएको बताए ।गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोमा घर क्षतिग्रस्त भएकाहरुलाई अस्थायी आवास निर्माणको लागि दिइएको रकम र निकासा रकमबारे प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । बाढी र पहिरोले क्षतिग्रस्त वी.पी. राजमार्गमा बाढी, पहिरो र लेदोको कारण सवारी साधन सञ्चालन गर्दा हुन सक्ने जोखिम मध्यनजर गर्दै साँझ ५ बजेसम्म मात्रै सञ्चालन गर्न दिने प्रस्ताव गरिएको र सिन्धुली जिल्लासंग समन्वय गरेपछि निर्णयमा पुगिने प्रजिअ ढकालले बताए ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले बजार अनुगमन फितलो भएको भन्दै प्रभावकारी बनाउन सुझाव दिए ।






प्रतिक्रिया दिनुहोस