मास्क लगाए मात्रै यात्रा गर्नुपर्ने १ चेकजाँचमा कडाइ

नौलो समाचार संवाददाता
२०७६ चैत्र ६, बिहिबार मा प्रकाशित १०८६ पटक पढिएको
मास्क लगाए मात्रै यात्रा गर्नुपर्ने १ चेकजाँचमा कडाइ

चैत ६, काठमाडौं । कोरोनाको जोखिम न्यूनीकरणका लागि सरकारले सार्वजनिक सवारी सरसफाइमा ध्यान दिन निर्देशन दिएपछि ट्राफिक प्रहरी त्यसको कार्यान्वयनमा सक्रिय भएको छ ।

हिजो बुधबार मात्रै रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोनाको प्रभाव रोक्नका लागि किटाणुशोधन नगरिएका सवारी चल्न नदिने निर्णय गरेको हो ।

सोहीअनुरुप उपत्यकामा चल्ने सार्वजनिक यातायातको अनुगमनमा ट्राफिक प्रहरी सक्रिय भएको हो । प्रहरीले यात्रु र चालकलाई मास्क लगाएर यात्रा गर्न आग्रह गरेको छ ।

बसभित्र सिट क्षमताभन्दा बढी यात्रुलाई प्रहरीले बाहिर समेत निकालेको छ । खासगरी बसहरु सफा पार्न भनिएको छ भने बसमा औषधी समेत छर्किएको छ ।

बुधबार पोखरेल नेतृत्वको समितिले गरेको निर्णयमा भनिएको थियो, “सार्वजनिक सवारीसाधनहरूमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न अनुरोध गर्ने । सर्वसाधारण नागरिकहरूलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध गर्ने । सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनुअघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई किटाणुशोधन गर्न लगाउने । यस कार्यको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्ने ।”

प्रतिक्रिया दिनुहोस