काठमाडौंबाट तीन दिनमै बाहिरिए तीन लाख मानिस

नौलो समाचार संवाददाता
२०७६ चैत्र ८, शनिबार मा प्रकाशित ८०७ पटक पढिएको
काठमाडौंबाट तीन दिनमै बाहिरिए तीन लाख मानिस
????????????????????????????????????

चैत ८, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले काठमाडौ शहर सुनसान भएको छ । स्कूल, कलेज,पार्टी प्यालेश र ठूला होटल बन्द भएपछि राजधानी शहर छाडेर गाउँ जानेहरु संख्या दिनदिनै बढेपछि काठमाडौ सुनसान भएको हो ।

चैत ५ गतेदेखि हुने भनिएको एसईई परीक्षा तथा त्रिभुवन विश्वविद्यालयबाट लिइने विभिन्न तहका परीक्षाहरु स्थागित भए । परीक्षा स्थगित भएपछि विद्यार्थीहरु गाउँ फर्कन थाले ।

त्यसैगरी चैत ५ गते नै विद्यालय तहको परीक्षा सकिएपछि अभिभावहरुले आफ्ना बच्चाहरुलाई गाउँ पठाउने व्यवस्था गरे । जसका कारण चैत ६ गते काठमाडौबाट बाहिरिने यात्रुको संख्या अघिल्ला दिनको भन्दा झण्डै तेब्बर भयो ।

सरकारले पार्टी प्यालेश र ठूला होटल बन्द गर्ने निर्णय गरेपछि त्यहाँ काम गर्ने मजदूर पनि घर फर्कन थाले । जसका कारण सोमबार, मंगलबार र बुधबारदेखि सामान्य संख्यामा चाप रहेको लामो दूरीमा बुधबार साँझबाट ह्वात्तै चाप बढेको थियो ।

सोमबारदेखि बुधबारसम्म ६० देखि ८० हजार यात्रुहरु काठमाडौ बाहिर गएको अनुमान गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले विहिबार भने सबै नाकाबाट करिव १ लाख ७० हजार भन्दा बढी यात्रुहरु बाहिरिएको जनाएको छ ।

महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले दिएको जानकारी अनुुसार शुक्रबार साँझसम्म करिब लाख भन्दा बढी यात्रुहरु बाहिरएका छन् । ‘ हिजो र आज विहान निकै समस्या भयो ट्राफिक व्यवस्थापन मिलाउन कलंकी र कोटेश्वरमा निकै जाम भयो’, उनले भने ।

एसपी श्रेष्ठका अनुसार दुई दिनमै काठमाडौ बाहिरिनेको संख्या बढ्यो । बुधबार काठमाडौमा करिव १ लाख मानिस भित्रिएका थिए त्यसै दिन करिब ८० हजार नागरिक बाहिरिएका थिए । तर विहिबार भने ठिक उल्टो भयो ।

काठमाडौ भित्रनेको संख्या न्यून देखियो बाहिरिनेको संख्या अधिक भयो । ‘दुई दिनमै काठमाडौको ट्राफिक व्यवस्थापन निकै सुनसान देखियो मानिसहरु घरबाट बाहिरिएका छैनन, टिकट काउण्टरमा भीड लागेको छ’, एसपी श्रेष्ठले भने ।

उनका अनुसार पुरानो बसपार्क, नयाँ वसपार्क, कोटेश्वर र कलंकीमा भीडभाड बढेको छ । काठमाडौ आउनेको संख्या कम हुँदै गएको र बाहिरिनेको संख्या बढेपछि काठमाडौको ट्राफिक व्यवस्थापनमा सहज भएको पनि एसपी श्रेष्ठले बताए ।

उनका अनुसार सडकमा ट्राफिक प्रहरीलाई प्ले कार्ड लिएर राखिएको बताए । तर त्यो प्ले कार्डले खासै काम नगरेको उनको बुझाई छ । ‘हामीले प्लेकार्ड मार्फत बढी भीडभाडमा नजानु भन्ने सन्देश दिन खोज्यौ तर सर्वसाधारण टिकटका लागि बसपार्क र काउण्टरमा पुगेका छन् जस्ले गर्दा भीडभाड बढेको छ’, उनले भने ।

ट्राफिक प्रहरी मास्क लगाएर हिड्नुस, भीडभाडमा नजानुस,साबुन पानीले हात धुनुस जस्ता अहिले सन्देश मुलुक प्ले कार्ड बोकेर चोक चोकमा बस्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस