नर्भिक अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु हल्ला मात्रै, अडियोको बारेमा प्रहरीले थाल्यो अनुसन्धान

नौलो समाचार संवाददाता
२०७६ चैत्र ८, शनिबार मा प्रकाशित ६३६ पटक पढिएको
नर्भिक अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु हल्ला मात्रै, अडियोको बारेमा प्रहरीले थाल्यो अनुसन्धान

चैत ८, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको हल्ला अफवाह मात्र भएको बताइएको छ। सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमितको मृत्यु नभएको नर्भिक अस्पतालले जनाएको छ।

अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेको एक जनाको मृत्यु भएको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएको थियो। अस्पतालले यो हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

अस्पतालका अध्यक्ष बसन्त चौधरीले अस्पतालमा कोरोनाका कुनै पनि बिरामी नभएको बताए। उनले अस्पतालको नाम जोडेर भ्रामक सन्देश फैलाउनेलाई साइबर क्राइम सेल र स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको पनि बताए।

“यो अत्यन्तै भ्रामक न्यूज हो र नियतवस गरिएको हो। नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु। यस विषयलाई हामीले साइबार क्रामइ सेल तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौं। हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौं,” उनले भने।

नर्भिक अस्पतालमा कोरोनाबारे कुनै परीक्षण नहुने अस्पतालले जनाएको छ। उसले कोरोना भाइरसको परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुने प्रष्ट पार्दै कोरोनाका बिरामी नर्भिकमा उपचाररत भन्ने हल्लामा सत्यता नभएको जनाएको छ ।

कोरोनाबारे भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान

कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ ।’

उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए ।

हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् ।

नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले पनि सो अडियोबारे अनुसन्धान भइरहेको बताए । ‘त्यसको प्राविधिक पाटोबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने ।

सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस