लकडाउनकाे उल्लंघन गर्ने ६८ भन्दा बढी पक्राउ, एक हजार सवारीसाधन नियन्त्रणमा

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित ४५९ पटक पढिएको

लकडाउनकाे उल्लंघन गर्ने ६८ भन्दा बढी पक्राउ, एक हजार सवारीसाधन नियन्त्रणमा

चैत ११, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार, पर्साबाट तीन, सिरहाबाट दुई, कञ्चनपुर दुई र धनुषाबाट एक गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आदेश विपरीत सञ्चालन गरेका एक हजार ५७१ सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइबुझाइ गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस