बागमती प्रदेश सरकारले स्थानीय तहमा १० देखि २० लाख बजेट पठाउने

नौलो समाचार संवाददाता
२०७६ चैत्र १७, सोमबार मा प्रकाशित ५०३ पटक पढिएको
बागमती प्रदेश सरकारले स्थानीय तहमा १० देखि २० लाख बजेट पठाउने

चैत्र १७, हेटौंडा । वागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेका हो।

मन्त्रिपरिषदबाट कायविधि पारित भएसँगै स्थानीय विपद् व्यवस्थापन समितिलाई सहयोग गर्ने बाटोसमेत खुलेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जनाए।
आइतबारै बसेको विपद व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रूपमा बनेका विपद व्यवस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले महानगरका समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
जिल्ला समन्वय समितिमा बनेको समितिलाई ५ लाख दिने निर्णय गरेको छ। सो रकम कोरोना संक्रमण रोकथाम तथा उपचार, आइसोलेसन तथाक्‍वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, विपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सक्ने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस