रुघाखोकी तथा भाइरल ज्वरोको घरेलु उपचारमा उपयोगी प्याज

नौलो समाचार संवाददाता
२०७६ चैत्र २०, बिहिबार मा प्रकाशित २७६ पटक पढिएको
रुघाखोकी तथा भाइरल ज्वरोको घरेलु उपचारमा उपयोगी प्याज

चैत २०, काभ्रे । रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईटा सामान्य आकारको प्याज दिनमा दुईतीनपटक काचै खाँदा रुघाखोकी तुरन्तै ठिक हुन्छ। ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरु बिभिन्न अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको छ। रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको घरेलु उपचारमा प्रभावकारी हुने प्याजको सेवन कोरोना भाइरसको संक्रमण नियन्त्रणमा समेत लाभकारी हुन सक्छ।

सजिलोको लागी प्याजमा अलिकति नून तथा कागतीको रस राखेर पनि खान सकिन्छ। रुघाखोकी संगै ज्वरो आएको खण्डमा प्याजलाई सानोसानो टुक्रा पारी केही समय (२०/३० मिनेट) दिनमा दुईतीन पटकसम्म सुँघ्ने गरेमा ज्वरो समेत पूर्णतया निको हुन्छ। प्याजका रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने, ज्वरो घटाउने, तथा भाइरस विरोधी औषधीय गुणहरु अनुसन्धानबाट प्रमाणित समेत भइसकेका छन्। तसर्थ प्याजको सेवन गरेर रुघाखोकी तथा रुघाज्वरोको असर कम गर्न सकिन्छ। तर खाली पेटमा र धेरै मात्रामा प्याज खाँदा पेट पोल्ने समस्या हुन सक्छ र खाना खाएपछि निश्चित मात्रा मिलाएर खानु उपयुक्त हुन्छ।

त्यस्तै रुघाखोकी लाग्दा मनतातो बेसारपानी सेवन गर्नु एवं बेसारपानीले घाँटी सफा गर्नु (गार्गल गर्नु) अत्यन्तै उपयोगी हुन्छ। रुघाखोकीको घरेलु उपचारमा बेसारको परम्परागत प्रयोगका साथै बेसारका रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने र रुघाखोकी बिरुद्धका औषधीय गुणहरु बिभिन्न अनुसन्धानहर बाट पुष्टि भइसकेको छ। रुघाखोकी लाग्दा कतिपय व्यक्तिहरुमा पेट दुख्ने तथा पखाला लाग्ने समस्या पनि देखिन्छ, त्यस्तो अवस्थामा टिमुर ८ देखि १० दाना अथवा आधादेखि एक चिया चम्चा टिमुरको धुलो नचपाइकन औषधि सेवन गरे जस्तै अलिकति पानीसित निल्नसके पखाला र पेटको दुखाईबाट समेत तुरन्तै आराम हुन्छ।

टिमुर चपाएर निल्न निकै गाह्रो हुन्छ। टिमुरका औषधीय गुणहरु पनि अनुसन्धानहरुबाट पुष्टि पनि भइसकेका छन्। त्यस्तै गाउँघरतिर सजिलै उपलब्ध हुने गुर्जोको डाँठ तथा पातको रस (दुईतीन चिया चम्चा) दैनिक सेवन गर्दा रगत शुद्धिकरण गर्दै रोगप्रतिरोधि क्षमता बढाउँछ भन्ने तथ्यहरु बैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ। उपरोक्त औषधीजन्य बनास्पतिहरुको सेवन गर्नुका साथसाथै प्रशस्त तातो पानी पिउने, तरकारी, गेडागुडी, च्याउ, मासु आदिको पोषिलो झोल खानेकुराहरु खाने तथा प्रशस्त घाममा बस्ने गर्नाले रोगप्रतिरोधि क्षमता अभिवृद्धि भइ रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको असर निवारणमा सहयोगी हुन्छ।

रुघाखोकी तथा कोभिड १९ का विषाणुहरू श्वासप्रश्वासको माध्यमद्वारा एक व्यक्तिबाट अर्कोमा सर्ने हुँदा रुघाखोकीको लक्षण देखिएमा अरु व्यक्तिहरुलाई संक्रमण हुनबाट जोगाउन अत्यन्तै सचेत हुनु पर्दछ। तसर्थ रुघाखोकीको लक्षण देखिएमा अन्य व्यक्तिको नजिक नगई एकान्तमा बस्ने र आराम गर्ने गर्नु पर्दछ। साथै सामान्य अवस्थामा प्राथमिक उपचारको रुपमा घरेलु औषधीय बनस्पतिहरुको सेवन र परम्परागत उपचार पद्धतिहरुको प्रयोग गर्न सकिन्छ। विशेषगरी रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको उपचारमा उपयोगी देखिएको प्याज तथा बेसारको सेवनले रुघाखोकीको संक्रमणलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सक्छ। तर, बिरामीको अवस्था बिग्रिने जस्तो देखिएमा तुरुन्तै दक्ष स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गर्नु श्रेयस्कर हुन्छ।

लेखक- डा नमराज धामी, पोखरा विश्वविद्यालयमा कार्यरत

प्रतिक्रिया दिनुहोस