नेपालमा हालसम्म १५ सय २९ काे काेराेना परिक्षण, १ सय १३ जना आईसोलेसनमा

नौलो समाचार संवाददाता
२०७६ चैत्र २३, आईतबार मा प्रकाशित ११०३ पटक पढिएको
नेपालमा हालसम्म १५ सय २९ काे काेराेना परिक्षण, १ सय १३ जना आईसोलेसनमा

चैत २३, काठमाडौं । नेपालमा अहिलेसम्म १५ सय बढीको कोरोना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबारसम्म १५ सय २९ जनाको कोरोना परीक्षण भएको हो।

परीक्षण भएकामध्ये ९ जनामा कोरोना पुष्टि भएको छ। अन्य एक सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। ‘उपत्यकामा १२ र उपत्यका बाहिर १०१ गरेर एक सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ’, प्रवक्ता देवकोटाले नियमित पत्रकार सम्मेलनमा भने।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुसहित अहिले देशभरका सात स्थानमा कोरोना परीक्षण सुरु भएको छ। ‘उपत्यका बाहिर ६ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ’, प्रवक्ता देवकोटाले भने, ‘धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौंडा र धनगढीमा परीक्षण भइरहेको छ।’

देवकोटाका अनुसार बुटवलमा भोलि (सोमबार)बाट परीक्षण सुरु हुनेछ भने काभ्रेकाे धुलिखेल र चितवनमा आजबाटै परीक्षण सुरु भएको छ। चितवनमा परीक्षण सुरु भएपछि उत्पत्यका बाहिर सात ठाउँमा टेष्ट सुरु भएको उनको भनाइ छ।

कोरोना संक्रमित ९ जनामध्ये एकजना उपचारपछि निको भएका छन्। चार जनाको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा, दुई जनाको बागलुङ र दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस