पछिल्लो २४ घण्टामा १६८ को नमुना परीक्षणमा भेटिएन कोरोना

नौलो समाचार संवाददाता
२०७६ चैत्र २४, सोमबार मा प्रकाशित ६५८ पटक पढिएको

पछिल्लो २४ घण्टामा १६८ को नमुना परीक्षणमा भेटिएन कोरोना

चैत्र २४, काठमाडौं । सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ ।

काठमाडौंसहित धुलिखेल, धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरु गरिएको हो । देशभर अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १२ सहित १ सय ७ जना आइसोलेसनमा रहेका छन् । देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

हिजाे आइतबारसम्म १ हजार ५ सय २९ को परीक्षण गरिएकोमा आज (सोमबार) १ सय ६८ को नमुना परीक्षण गर्दै १ हजार ६ सय ९७ को कोरोना परीक्षण भएको हो।

वितेको २४ घण्टामा गरिएको १ सय ६८ को परीक्षणमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभरका १० वटा ठाउँबाट पिसिआर प्रविधिमार्फत कोरोना परीक्षण भइरहेको छ।

उनका अनुसार १ हजार २ सय ९१ जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा ५ जना रेड जोनमा परेका छन्।

कोभिड १९ का लागि काठमाडौंमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको देवकोटाले बताए।


प्रतिक्रिया दिनुहोस