काठमाडौँ उपत्यकामा २५ गतेदेखि लकडाउन खुकुलो बनाईदै, यस्ताे छ तयारी..

नौलो समाचार संवाददाता
२०७७ बैशाख २१, आईतबार मा प्रकाशित ५९३ पटक पढिएको
काठमाडौँ उपत्यकामा २५ गतेदेखि लकडाउन खुकुलो बनाईदै, यस्ताे छ तयारी..

बैशाख २१, काठमाडौँ ।  सरकारले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यका कोरोना भाइरसको संक्रमण मुक्त भएको भनेको केही सातापछि सरकारले भिडभाड हुने क्षेत्रबाहेक अन्य सन्चालनमा ल्याउने तयारी गरेको बुझिएको छ। त्यसका लागि बाहिरबाट काठमाडौँ उपत्यका प्रवेशमाथि थप कडाइ गर्न लागिएको छ।

नेपालमा पछिल्लोपटक थपिएको लकडाउनको अवधि वैशाख २५ गते सकिँदै छ। सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन र नियन्त्रण गर्न चैत ११ गतेदेखि देशब्यापी लकडाउन सुरु गरेको थियो।

नेपालमा हालसम्म कोरोना भाइरसका ७५ जना संक्रमित भेटिएका छन्। यीमध्ये १६  जना निको भइसकेका छन्। आइतबार मात्र १६ जना संक्रमित थपिएका छन्।

काठमाडौँ उपत्यकामा हालसम्म तीन संक्रमित भएकामा सबै निको भइसकेका छन्। तीनै जना विदेशबाट आएका थिए। काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जना १० दिनअघि निको भएर घर फर्किएपछि काठमाडौँ उपत्यकामा कुनैपनि संक्रमित छैनन्।

कोरोना भाइरस संक्रमण जोखिमको हिसाबले  ‘ग्रिन जोन’, ‘येल्लो जोन’ र ‘रेड जोन’ छुट्याएर त्यसअनुसार लकडाउनलाई खुकुलो बनाउन लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

‘कोरोना भाइरसको जोखिम नरहेको क्षेत्रलाई ग्रिन जोन, जोखिम कम हुँदै गएको क्षेत्रलाई येल्लो जोन र संकट पूर्ण क्षेत्रलाई रेड जोन मानेर त्यसअनुसार कहाँ कहाँ लकडाउन खुकुलो बनाउने भन्ने तय हुन्छ’, गृह मन्त्रालयका एक उच्च अधिकारीले भने।

काठमाडौँ उपत्यका कोरोना भाइरसको संक्रमण मुक्त भएकाले भविष्यमा संक्रमण हुन नदिने सावधानीसहित लकडाउन खुकुलो बनाइने छ। त्यसका लागि मानिसको भिडभाड हुने क्षेत्रमाथि लकडाउन कायमै गरिने छ।

होटल, रेस्टुरेन्ट, क्लब,शैक्षिक संस्था, सार्वजनिक यातायातलगायत मानिसको चहलपहल बाक्लो हुने क्षेत्रमा लकडाउन खुकुलो हुने छैन। तर सरकारी कार्यालय, उधोग कलकारखाना,निजी सवारी साधन, निजी कम्पनीहरुमा निश्चित सावधानीसाथ लकडाउन खोल्ने तयारी सरकारको रहेको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन्।

‘कोरोना संक्रमण मुक्त भइसकेको लामो समयसम्म पनि थप संक्रमित भेटिएका छैनन्। यस्तो अवस्थामा लकडाउन कायमै गर्नुको कुनै अर्थ छैन। सावधानीहरु अपनाएर यसलाई खुकुलो बनाउनुपर्छ’, गृह मन्त्रालयका ती अधिकारी भन्छन्।

प्रतिक्रिया दिनुहोस