काभ्रेका एम्बुलेन्समा जिपिएस जडान, विरामीलाई सहि समयमा सेवा प्रदान गरे/नगरेकाे मनिटरिङ्ग गरिने

नौलो समाचार संवाददाता
२०७७ बैशाख २४, बुधबार मा प्रकाशित २६० पटक पढिएको
काभ्रेका एम्बुलेन्समा जिपिएस जडान, विरामीलाई सहि समयमा सेवा प्रदान गरे/नगरेकाे मनिटरिङ्ग गरिने

बैशाख २४, काभ्रे । विरामीलाई सहि समयमा सेवा प्रदान गर्ने उद्देश्यले जिल्लामा रहेका एम्बुलेन्सहरुमा जिपिए डिभाईस जडान गरी मनिटरिङ्ग शुरु गरिएको छ । ३५ वटा एम्बुलेन्स मध्ये अाज (बुधबार) धुलिखेलमा ३० वटा सहभागि थिए । नेपाल रेडक्रस सोसाईटी अस्पताल पुर्व सेवाका प्रमुख भोजराज ओझाका अनुसार जिल्लामा रहेका ३५ मध्ये ३० वटा एम्बुलेन्समा जिपिएस जडान प्रकृया शुरु गरिएको छ । अाज एकै दिनमा १० वटा एम्बुलेन्समा जडान गरिएको छ । बाँकी एम्बुलेन्समा विस्तारै जडान गरिने ओझाले बताउनु भयो ।

‘धुलिखेल अस्पतालमा रहेका दुईवटा एम्बुलेन्समा पहिल्यै जिपिएस जडान गरिएको थियो भने नेपाल रेडक्रस सोसाईटी मार्फत हस्तान्तरण गरिएका चौरी देउराली र बेथान्चोक गाउँपालिकामा रहेका दुई गरी चारवटा एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको छ’– ओझाले भन्नुभयो–‘बाँकी ३१ मध्ये पाँचवटा एम्बुलेन्स सम्पर्कमा नगएको, नियमित नविकरण नगरेको तथा कागजपत्र समेत नभएको भन्दै जिपिएस प्रणाली जडानमा सहभागि भएका छैनन ।’ एम्बुलेन्स सेवाका लागि हटलाईन १६६०११२२००० नम्वरमा फोन गर्न सकिने ब्यवस्था मिलाईएको छ ।

जिपिएस प्रणालीमा जडान भएको एम्बुलेन्सका बारेमा धुलिखेल अस्पतालमा रहेको मनिटर तथा सम्वन्धित गाउँपालिका तथा नगरपालिका र एम्बुलेन्स ब्यवस्थापन समितिले संचालन गरेको मोवाईलमा रेकर्ड रहनेछ । हरेक दिनको रेकर्ड वा बार्षिक तथा चाहेको समयवाधीको रेकर्ड लिन सकिने गरी जिपिएस प्रणाली जडान गरिएको छ । जिपिएस प्रणाली मार्फत एम्बुलेस भएको अवस्थामा छैन भन्ने र जान नमान्ने अवस्थामा समेत सहजिकरण हुनेछ भने विरामीको स्थान नजिकै भएको एम्बुलेन्सलाई पहिलो प्रथामिकता राखी पठाईनेछ ।

एम्बुलेन्सको दुरुपयोग समेत नहुने विश्वास रहेको ओझाले बताउनु भयो । जिल्लामा ख बर्गका चारवटा एम्बुलेन्सले २४ सै घण्टा सेवा दिनेछन् भने ग वर्गका ३१ वटा एम्बुलेन्स छन् । छिमेकी जिल्ला सिन्धुपाल्चोकमा २७ वटा एम्बुलेन्स मध्ये तीनवटा एम्बुलेन्समा जडान गरिएको जिपिएस धुलिखेल अस्पतालमै केन्द्रित गरिएको छ । बाह्रविसे, जलविरे र मेलम्चीमा रहेका एम्बुलेन्समा प्रविधि जडान गरिएको ओझाले बताउनु भयो ।

स्वास्थ्य कार्यालय काभ्रे, धुलिखेल अस्पताल, नेपाल रेडक्रस सोसाईटी समेतको सहकार्यमा पालिकाहरुको सहयोगमा उक्त प्रविधि जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस