काभ्रेका सञ्चारकर्मीको कोरोना परीक्षण गरिने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ४६५ पटक पढिएको
काभ्रेका सञ्चारकर्मीको कोरोना परीक्षण गरिने

जेेठ २, काभ्रे । कोरोना भाइरसको महामारीमा अग्रपक्तिमा रहि नागरिकहरुलाई निरन्तर सूचना प्रवाह गर्ने जिल्लाका संचारकर्मीहरुको कोरोना संक्रमण भए/नभएको परिक्षण गरिने भएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पहलमा पत्रकारहरुको पिसिआर र आरडिटी दुबै परिक्षण गरिन लागिएको हो ।

जिल्लामा अग्रपक्तिमा रहेर कार्य गर्ने सञ्चारकर्मीलाई आरडिटी र पिसिआरबाट परिक्षण गर्ने कमाण्डपोष्टका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताबए । आवश्यकतानुसार कोभिड १९ सम्बन्धी प्रयोगशाला परिक्षण प्रोटोकल अनुसार तरकारी व्यापारी, फलफुल व्यापारी, घरदैलोमा सहभागी जनप्रतिनिधि र कर्मचारी, फोहोर मैला विसर्जन गर्ने कर्मचारी र संक्रमित जिल्ला र विदेशबाट आएका नागरिकको परिक्षण गरिनेछ ।

अाज (शुक्रबार) कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय कमाण्डपोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले कोभिड १९ परिक्षणको लागि प्राप्त भएका मेडिकल किटहरुबाट जिल्लामा ड्युटीमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य अधिकृतसँगको समन्वयमा प्राथमिकताको आधारमा कोभिड १९ परिक्षण गर्ने निर्णय गरेको छ । जिल्लामा पिसिआर किट २ हजार ६ सय किट, आरडिटी १ हजार किटरहेको डा. झाले बताए ।

संघ सरकारले एमएम ट्युव ३ सय, फुलसेट पिपिई ५० थान, स्यानिटाईजर २० लिटर प्राप्त भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले बताए ।

कोरोना परिक्षणका लागि जिल्लामा कार्यरत सबै ल्याब कर्मचारीहरुलाई परिचाल नगर्न सम्बन्धित पालिकाहरुलाई अनुरोध गर्ने साथै धुलिखेल अस्पतालले आउट रिच क्लिनिकमा कार्यरत ल्याब कर्मचारीलाई आरडिटी परिक्षण र स्वाबलिन आवश्यकतानुसार परिचाल नगर्ने र धुलिखेल अस्पतालमा प्रत्येक दिन स्वाब संकलन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस