कोरोनाबाट मृत्यु भएकी महिलाको १२ दिने शिशुमा जण्डिस

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ४०४ पटक पढिएको
कोरोनाबाट मृत्यु भएकी महिलाको १२ दिने शिशुमा जण्डिस

जेठ ४, काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको १२ दिने नवजात शिशुमा जण्डिस (कमलपित्त) देखिएको छ। सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको गत बिहीवार उपचारका क्रममा मृत्यु भएको थियो। बिहीवार नै उनका पति र नवजात शिशुलाई अस्पतलमा भर्ना गरिएको थियो। धुलिखेल अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले शिशुमा जण्डिस देखिएको पुष्टि गरे।

ताम्राकारका अनुसार कम समयमा नै शिशुको जन्म भएको हो। ‘आइतवार बिहानसम्मको स्थितिमा शिशुको अवस्था सामान्य नै देखिए पनि उसमा जन्डिस देखापरेको छ,’ डाक्टर ताम्रकारले भने, ‘शिशुको आइसोलेसनमा उपचार भइरहेको छ।’

आमाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाले शिशुको पनि थ्रोड स्वाब लिइएको छ।

‘हामीले स्वाब संकलन गरिसकेका छौं भोलिसम्म रिपोर्ट आउनसक्छ,’ उनले भने, ‘आज बिहानसम्म शिशुको अवस्था सामान्य भए पनि जण्डिस देखिएकाले बालरोग विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोली खटिएको छ। उनलाई उपचार भइरहेको छ।’

संकलन गरिएको स्वाबको परीक्षण धुलिखेल अस्पतालको प्रयोगशालमा हुँदैछ।

संक्रमितको मृत्यु भएकाले मात्र २९ वर्षीय महिलाको दोहोर्‍याएर परीक्षण गर्न पठाइएको उनले बताए। ‘मृत्यु भएको अवस्थामा मात्र रेकर्डका लागि मात्र स्वब परीक्षण गर्न काठमाडौं पठाएका थियौं,’ उनले भने।

स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पताललाई कोभिड १९ का लागि क्लिनिकका रुपमा मान्यता दिएको छ। यो अस्पतालले दोलखा, रामेछाप सिन्धुपाल्चोक लगायतका जिल्लाहरु हेर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस