पनौतीमा बाढीले दुई वटा पुल बगायो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित ३१२ पटक पढिएको
पनौतीमा बाढीले दुई वटा पुल बगायो

जेठ १८, काभ्रे । जिल्लाको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता र रोशी खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ ।

पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रश्वरलगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ सङ्कटा जोड्ने पुल बगाएको छ । त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल अविरल वर्षाका कारण बगाएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बाढीले पनौती नगरपालिका वडामा बाढी आइ रोशीखोलामा रहेको दुई पक्की पुल बगाई पूर्णरूपमा क्षति भएको बताए ।

पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यामाता र रोशीखोलामा जेठ १६ गते बुधबार गएको बाढीले दुई पक्की पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको बताए । “पनौती क्षेत्रमा यति ठूलो बाढी विसं २०१३ असोज १३ गतेपछि आएको ठूलो बाढी हो ।” कर्माचार्यले भने, “बाढीले सुकुम्वासी बस्तीभन्दा माथिको खोला छेउको टिपर गुड्ने बाटोसमेत क्षति पु¥याउनुका साथै एउटा निशान गाडी र एउटा स्कुटर बगाएको छ ।” यसैगरी सडक छेउमा पार्किङ गरी राखेको बा ५ ख ३६८९ नंको निशान ट्रक रोशी खोलामा आएको बाढीले करिब २०० मिटर तल बगाइ क्षति भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस