सङ्क्रमित बढेसँगै अटोमेसिनमार्फत काेराेना परीक्षण गर्ने सरकारको तयारी

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २०, मंगलबार मा प्रकाशित ३२५ पटक पढिएको
सङ्क्रमित बढेसँगै अटोमेसिनमार्फत काेराेना परीक्षण गर्ने सरकारको तयारी

जेठ २०, काठमाण्डाै । सरकारले कोरोना भाइरसको जोखिम बढेपछि परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले दैनिक तीन हजार जनाको परीक्षण हुने गरी दायरा बढाइएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अहिले २१ वटा प्रयोगशालाबाट परीक्षण भइरहेको छ । यस्तै ठूलो सङ्ख्यामा परीक्षण गर्न अटोमेटिक मेसिन ल्याउने तयारी भएको छ । एकै पटक धेरैको परीक्षण गरी जोखिम थप कम गर्न अटोमेटिक मेसिन ल्याउने तयारी गरेको प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो ।

भारतबाट आउनेको सङ्ख्या बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । यो महिना लागेपछि हरेक दिन एक सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदै आएको छ ।

वैशाख महिनामा एक सय जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेको थियो । जेठ १५ गतेसम्म आउँदा सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको थियो भने आजसम्म आईपुग्दा दुई हजार नाघेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयले सङ्क्रमित बढिरहेकाले क्वरेण्टीनकाे व्यवस्थापन र सावधानीकाे विषयमा ध्यान दिन सम्बन्धितसँग आग्रह गरेको छ । जोखिम बढेपछि क्वरेण्टीनमा आइसोेलेशन राख्ने तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस