भोलिदेखि आउँदैछन् विदेशमा रहेका नेपालीहरु, काठमाडौं,भक्तपुर र ललितपुरका ‘होल्डिङ सेन्टर’ मा राखिने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २२, बिहिबार मा प्रकाशित ५९७ पटक पढिएको
भोलिदेखि आउँदैछन् विदेशमा रहेका नेपालीहरु, काठमाडौं,भक्तपुर र ललितपुरका ‘होल्डिङ सेन्टर’ मा राखिने

जेठ २२, काठमाडौँ । भाेेेलि (शुक्रबार)देखि विदेशबाट फर्कने नेपाली नागरिकलाई राख्नका लागि काठमाडौं,भक्तपुर र ललितपुर तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ।

विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर र प्रदेश–१ र २ का नागरिकलाई भक्तपुरमा राख्ने गरी होल्डिङ सेन्टर निर्माण गरिएको हो।

तीनवटै जिल्लाको संकट व्यवस्थापन केन्द्र (सीएमसी) ले विदेशबाट स्वदेश फर्कन चाहने नागरिकलाई नेपालमा आएपछि सम्बन्धित प्रक्रिया पूरा गरेर आफ्नो प्रदेश जानुअघि उपत्यकामा नै रहेका होल्डिङ सेन्टरमा राख्न सहजीकरण गर्नेछन्।

सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) का कारण विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेशमा आउन सहजीकरण गर्ने सम्बन्धी आदेश जारी गरी यसको सबै तयारी गरिसकेको छ।

त्यसका लागि उपत्यकाका तीनवटै सीएमसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्केका नेपाली नागरिक अवतरण भएसँगै कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन नदिन उपत्यकामा छुट्टै राख्न तीनवटै जिल्लामा होल्डिङ सेन्टर निर्माण गरेको हो।

बाग्मती प्रदेशका नागरिकलाई राख्न पार्टी प्यालेस बसुन्धरा, गण्डकी प्रदेशका लागि स्काई जोन पार्टी प्यालेस धुम्बाराही र प्रदेश–५ का लागि दरबार ब्यांकेट चप्पल कारखानामा होल्डिङ सेन्टर निर्माण गरिएको छ।

त्यस्तै भारतबाट र उपत्यका बाहिरबाट आएका नागरिकलाई मात्र राख्न राधा स्वामी सत्संग केन्द्र कीर्तिपुर र राधा स्वामी सत्संग व्यास नेपाल सामाखुसीमा होल्डिङ सेन्टर निर्माण गरिएको छ।

भक्तपुरमा प्रदेश–१ का नागरिकका लागि सल्लाघारीको इम्पेरियल पार्टी प्यालेस र प्रदेश–२ का नागरिकका लागि राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा राख्ने गरी तयारी गरिएको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकका लागि ग्वार्कोमा रहेको मण्डला पार्टी भेन्यूमा व्यवस्था गरिएको छ भने सिद्धार्थ कटेज धोबीघाटलाई चाहिएको अवस्थामा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखिएको छ।

मण्डला पार्टी भेन्यूमा निर्माण गरिएको होल्डिङ सेन्टरमा लगेज राख्ने ठाउँ,फोटो खिच्ने, रजिष्ट्रर गर्नेदेखिका व्यवस्था गरिएको छ।

विदेशबाट स्वदेश फर्केसँगै उनीहरुलाई आफ्नोआफ्नो प्रदेश अनुसार बनाइएको होल्डिङ सेन्टरमा लगिने छ।

त्यहाँ उनीहरुको स्वास्थ्य जाँच लगायतको काम गरिने छ भने प्रदेश सरकारलाई हस्तान्तरण नगरिएसम्म उनीहरुलाई त्यहाँ व्यवस्था गरिने छ।

यदि कसैको स्वास्थ्यमा समस्या देखिएमा त्यहीँबाट आइसोलेसन लगिने छ ।

प्रतिक्रिया दिनुहोस