भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु,काेराेना संक्रमण भएकाे हुन सक्ने भन्दै सबै सेवा बन्द

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २६, सोमबार मा प्रकाशित ४४४ पटक पढिएको
भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु,काेराेना संक्रमण भएकाे हुन सक्ने भन्दै सबै सेवा बन्द

जेठ २६, भक्तपुर । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी बेथा लागेपछि आइतबार साँझ अस्पताल पुगेकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका– ३ घर भई हाल चाँगुनारायण नगरपालिका– ३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो ।

सुत्केरी भएको आधा घन्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशंकामा अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो ।

मृत्युपछि कोरोनाको आशंकामा आइतबार राति करिब ९ बजे स्वाब लिई पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पिसिआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताइन् । उनले अस्पतालमा भने विशेष सजगता अपनाएको जानकारी दिइन् ।

अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमित रूपमा केएमसी अस्पताल सिनामंगलमा स्वास्थ्य परीक्षण गराउँदै आएको पाइएको बताए । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना सङ्क्रमण भएपछि यही २० गतेदेखि नै त्यहाँको सेवा बन्द भएकाले सुत्केरी हुन भक्तपुर अस्पताल आएको पाइएको उनले जानकारी दिए । महिलाको शव अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस