सेनाले ‘जिटुजी’मार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी घोटाला !

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २८, बुधबार मा प्रकाशित ४६५ पटक पढिएको

सेनाले ‘जिटुजी’मार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी घोटाला !

जेठ २८, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाली सेनाले जिटुजीमार्फत् चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा एक अर्ब रूपैयाँभन्दा बढी अनियमितता देखिएको छ।

नेपाली सेनाले मेडिकल सामग्री खरिद गरेको मूल्य र हालको बजार मूल्य तथा यसअघि स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग किन्नका लागि तयार पारेको सूचीसँग तुलना गर्दा घोटाला भएको देखिएको हो। नेपाली सेनाले जिटुटीमार्फत् खरिद गरेका १५ आइटमका मेडिकल सामग्री तथा मेसिनमा मात्र हालको बजार मूल्यभन्दा १ अर्बभन्दा बढी तिरेको देखिएको छ।

नेपाली सेनाले कूल १ करोड ८४ लाख ४८ डलरभन्दा बढीमा ८४ प्ररकारका मेडिकल सामग्री खरिद गर्न वैशाख पहिलो साता चीनसँग सम्झौता गरेको थियो। सम्झौतामा ३ हजार क्युबिक मिटर मेडिकल सामग्री ल्याउने उल्लेख छ। सोही सम्झौताअनुसार अहिलेसम्म २ हजार क्युबिक मिटर मेडिकल सामग्री नेपाल आइसेकेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन्। बाँकी १ हजार क्युबिक मिटर मेडिकल सामग्री पनि एक साताभित्रै नेपाल आइपुग्ने उनको भनाइ छ।

सेनाले पहिलो लटको मेडिकल सामग्री स्थलमार्गबाट जेठ ३ गते नेपाल ल्याएको थियो भने त्यसपछि अहिलेसम्म ८ लट गरी मेडिकल सामग्री ल्याएको छ। सेनाले ल्याएको मेडिकल सामग्रीमध्ये १५ प्रकारका सामानमा मात्रै १ करोड ४८ लाख ३७ हजार ९ सय ७५ डलर खर्च भएको छ। बाँकी ३६ लाख डलरमा भने अन्य सस्तो आइटमको मेडिकल सामग्री ल्याएको छ। सेनाले २ पटक चार्टर जहाजका लागि ३ लाख ७२ हजार ५ सय डलर (४ करोड ४७ लाख नेपाली रूपैयाँ) र स्थलमार्गबाट ल्याउँदा २ करोड ४६ लाख ७६ हजार ४ सय रूपैयाँ सेनाले खर्च गरेको छ।

ओम्नी ग्रुपसँग स्वास्थ्य सेवा विभागले खरिद गरेका मेडिकल सामग्रीमा बढी मूल्य तिरिएको भन्दै विवाद भएको थियो। यसपछि स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ‌ओम्नीसँगको सम्झौता खारेज गरी उसलाई कालोसूचीमा राख्दै नयाँ प्रक्रियाबाट सामान खरिद गरिने उल्लेख गरेका थिए।

ओम्नीसँगको खरिद विवादमा परेपछि मेडिकल सामग्री खरिदको जिम्मा नेपाली सेनाले पाएको थियो। सेनाले कोरोना रोकथामका लागि आवश्यक नपर्ने सामग्री ल्याएको देखाएको र कोरोना नियन्त्रण तथा उपचारका लागि चाहिने सामग्रीमा भने महँगो मूल्य परेको देखाएको छ। कोरोना नियन्त्रणका लागि तत्काल चाहिने मेडिकल सामग्रीको मूल्य भने हाल नेपाली बजारमा उपलब्ध हुने मूल्यभन्दा सेनाले ३ गुणासम्म बढी परेको भन्दै खरिद गरेको खुल्न आएको छ।

स्वास्थ्यखबरलाई प्राप्त कागजातमा १५ वटा सामग्री खरिदमै मात्रै १ अर्ब रूपैयाँभन्दा बढी घोटाला भएको देखिन्छ। सरकार आफैँले १५ रूपैयाँमा खरिद गरेको सर्जिकल मास्कमा सेनाले ५१ रूपैयाँ ६० पैसा खर्च गरेको छ। यसैगरी अहिले बजारमा २ सयदेखि २ सय २५ रूपैयाँमा पाइने तथा केही समय अगाडि मात्रै स्वास्थ्य सेवा विभागले २ सय २५ रूपैयाँमा खरिद गरेको एन-९५ मास्कलाई सेनाले ३ सय ५४ रूपैयाँ हालेको छ।

source: swasthyakhabar.com

प्रतिक्रिया दिनुहोस