सर्लाहीमा सशस्त्र प्रहरी र भारतीयबीच झडप, गोली लागेर एकको मृत्यु, पाँच घाइते

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ४७३ पटक पढिएको
सर्लाहीमा सशस्त्र प्रहरी र भारतीयबीच झडप, गोली लागेर एकको मृत्यु, पाँच घाइते

जेठ ३०, काठमाडौं । सर्लाहीको पर्सा ३ मा जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ। गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको स्रोतले जनाएको छ। घटनामा पाँच जना भारतीय घाइते भएका छन्।

अाज बिहान करिब नौ बजे नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुबाट आक्रमण भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरीले जनाएको छ। त्यस क्रममा पाँच जना भारतीयलाई गोली लागेको सशस्त्र प्रहरी स्रोतको भनाई छ।

गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले यसको पुष्टि गर्न बाँकी छ। मृतकको नाम, ठेगाना खुलेको छैन।

पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा झडप भएको हो। त्यस क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर हतियार पनि खोसेका थिए।

हतियार खोस्ने व्यक्तिलाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। सशस्त्रले गोली चलाएपछि उनीहरु भारततिरै भागेका छन्। त्यसक्रममा सशस्त्रले एक दर्जन हवाई फायर गरेको छ। उनीहरु नेपाल प्रवेश गर्न खोज्नुको उद्देश्य खुलेको छैन।

प्रतिक्रिया दिनुहोस