काभ्रेमा बिरामी बोक्ने एम्बुलेन्समा रक्सी

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३२, आईतबार मा प्रकाशित ४९९ पटक पढिएको
काभ्रेमा बिरामी बोक्ने एम्बुलेन्समा रक्सी

जेठ ३२, काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिकाको  एम्बुलेन्सले रक्सी बोक्ने गरेको पाइएको छ । प्रदेश ३ बा.२३च २१४७ नम्बरको एम्बुलेन्सले रक्सी बोकेको पाइएको हो । केही महिनाअघि मात्र क्यानेडियन रेडक्रसको अनुदानमा नेपाल रेडक्रस ग्रामीण आपतकालीन तथा ट्रमा प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत चौरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स दिइएको थियो ।

उक्त एम्बुलेन्समा रक्सी बोकेको गुनासो स्थानीयले गरेपछि एम्बुलेन्स चालकलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाले नियन्त्रणमा लिएर चालकलाई स्पष्टीकरण सोधेको छ । उक्त एम्बुलेन्सले रक्सी मात्र हाेइन, नक्कली बिरामी बनाएर यात्रु पनि बोक्ने गरेको खुलेको छ । त्यसरी नै यात्रु बोकेको पाएर काभ्रे र भक्तपुरको सिमानामा रहेको प्रहरी चेकपोष्टले दुईपटक नियन्त्रणपश्चात् छोडेको थियो ।

नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवाप्रमुख भोजराज ओझाले उक्त एम्बुलेन्सले मदिरा बोकेको स्विकारेका छन् । एम्बुलेन्सले मदिरा बोकेको गुनासो आएपछि चालकलाई लिखित स्पष्टीकरण सोधेको उनले बताएका छन् । ‘अहिले एम्बुलेन्सको ब्रेकफेल भएकाले बनाउनका लागि ग्यारेजमा दिइएको छ । ‘रक्सी बोकेको भन्ने गुनासो आएपछि नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाले चालकलाई लिखित स्पष्टीकरण सोधेको छ,’ उनले भने, ‘छिटै बनाएर बिरामीको सेवामा फर्काउँछौँ ।’

प्रतिक्रिया दिनुहोस