आज सूर्यग्रहण, नाग्ङ्गो आँखाले नहेर्नु : चिकित्सक

नेपालबाट याे सूर्यग्रहण अब ४४ वर्षपछिमात्रै देखिने
नौलो समाचार संवाददाता
२०७७ अषाढ ७, आईतबार मा प्रकाशित ७१७ पटक पढिएको

आज सूर्यग्रहण, नाग्ङ्गो आँखाले नहेर्नु : चिकित्सक

असार ७, काठमाडौं । आज  सूर्यग्रहण देखिँदै छ । यो ग्रहण वास्तवमा वलय (सूर्य केवल बालाको आकारमा मात्रै देखिने) सूर्यग्रहण भए तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्‍न सकिने वाल्मीकि क्याम्पस ज्योतिष विभागका सहप्राध्यापक जयन्त आचार्यले बताएका छन् ।  उनका अनुसार अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण देखिनेछ ।

कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो वलय सूर्यग्रहण देख्‍न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ । नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ । काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने आचार्यको भनाइ छ ।

सूर्यग्रहण नाङ्गो आँखाले हेर्न नहुने चिकित्सकहरुको भनाइ छ । सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि आँखा देख्न नसक्नेसमेत हुन सक्छ । त्यसैले सूर्यग्रहणका बेलामा नांगो आँखाले कदापि नहेर्न वैज्ञानिकहरुले सुझाब दिएका छन् ।

ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुँदैन भने सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यबिम्बको प्रतिबिम्ब बनाई छाया हेर्नु नै हो । धार्मिक समुदायका मानिस ग्रहणका बेला दान दक्षिणा गर्दा विशेष फल मिल्ने विश्वास गरी नदी तट वा गंगामा गई ग्रहणको स्‍नान गरी शुद्ध हुने र दान दिने गर्छन् । तान्त्रिकहरु ग्रहण लागेका बेला मन्त्र सिद्ध हुने विश्वासका साथ साधना गर्छन् ।

पञ्चाङ्ग निर्णायक समितका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आज लाग्‍ने सूर्यग्रहण नेपालबाट बिहान १०:५० बाट सुरु भई अपरान्ह २:२३ मा समाप्त हुँदै छ । बिहानको १२:३८ मा सूर्यलाई हामीहरुले करिब ८८ प्रतिशत ढाकेको देख्छौँ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले महसुस गर्नेछन् । आज दुईपटक बिहान भएको पो हो कि भन्ने अनुभव सबैले गर्नेछन् ।

सूर्यग्रहणको फल

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

धार्मिक मान्यताअनुसार यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरु भने सूर्यग्रहण जो–कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्छन् ।


प्रतिक्रिया दिनुहोस