पाँचखालकाे बहुप्रतिक्षित खानेपानी आयोजनाको काम सुरू, तीन बर्षमा निर्माण सकिने, लागत २ अर्ब २१ करोड

नौलो समाचार संवाददाता
२०७७ अषाढ १६, मंगलबार मा प्रकाशित १११७ पटक पढिएको

पाँचखालकाे बहुप्रतिक्षित खानेपानी आयोजनाको काम सुरू, तीन बर्षमा निर्माण सकिने, लागत २ अर्ब २१ करोड

असार १६, काभ्रे । काभ्रे पाँचखालको बहुप्रतिक्षित सुनकोशी खानेपानी आयोजनाको चौपक्षिय सम्झौता भएको छ । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न खानेपानी तथा ढल ब्यबस्था बिभाग, नगर बिकास कोष, पाँचखाल नगरपालिका र उपभोक्ता समिति बिच साेेमबार आयोजना ब्यबस्थापनमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा खानेपानी तथा ढल ब्यबस्था बिभागबाट बिध्यानाथ भट्टराई, नगरबिकास कोषको तर्फबाट सुवाष राज पन्त, नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल तथा उपभोक्ता समितिको तर्फबाट अध्यक्ष कुमार लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौतासंगै सोमबारबाट औपचारिक रुपमा खानेपानी योजनाको काम सुरु भएको छ । खानेपानी योजनाको लागि हुएसुइ कन्काइ जोइन्ट भेन्चरले ठेक्का पाएको छ ।

त्यस्तै सोमबारै नगर बिकास कोष र खानेपानी आयोजाना बिचमा ऋण एवं जमानत सम्झौता भएको छ । कोष, नगरपालिका र उपभोक्ता समिति बिचमा ऋण एवं जमानत सम्झौता भएको हो । सम्झौतामा नगरबिकास कोषका निमित्त कार्यकारी निर्देशक राजेश कुमार भोछिभोया र उपभोक्ता समितिको तर्फबाट कुमार लामिछानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्र अनुसार खानेपानी आपूर्ति तर्फको कुल रकमको २५ प्रतिशत रकम ५ प्रतिशत ब्याजदरमा नगरबिकास कोषले उपलब्ध गराउने उल्लेख छ । कोषले  सम्झौताको ५ बर्ष सहुलियत दिने तथा २०८२ असारदेखि ऋणको सवाँ ब्याज बुझाउनुपर्ने उल्नेख छ । २०२१ पौषसम्म ऋण तिर्नुपर्ने नगरबिकास कोषका निमित्त कार्यकारी निर्देशक राजेश कुमार भोछिभियाले जानकारी दिए ।

सम्झौता पश्चात पाँचखाल नगर प्रमुख महेश खरेलले निकै मेहनतका साथ सुरु भएको आयोजना खेर जान नदिने विश्वास दिलाए । नगर प्रमुख खरेलले काकाकुल पाँचखालमा यति ठूलो योजना परेकोमा सहयोग गर्ने सबै पक्षलाइ धन्यबाद दिए ।

खानेपानीकाे चरम अभावमा रहेका पाँचखाल बासिलाइ खुशी दिलाउन नगरपालिकाको पहलमा २०७३ साल वैशाख ११ गतेदेखिको जनप्रतिनिधि, राजनैतिक दल, नागरिक अगुवाहरुको भेला, बैठक, उपभोक्ताहरुको भेला, उपभोक्ता समिति निर्माणदेखि कार्यान्वयन चरणमा प्रबेश गरेको छ । परियोजनाको २०७६ भदौ १२ गते खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।

आयोजना दुई अर्ब २१ करोडको लागतमा तीन बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको थियो । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रति उपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका थिए ।

खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित सुनकाेशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पुर्याउन पाँचखाल नगर कार्यालयद्वारा सर्भेको काम सम्पन्न भएकाे पाँचखाल नगरपालिका प्राविधिक शाखा प्रमुख कपिलदेब भट्टले जानकारी दिए ।

आयोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस