काभ्रेमा लकडाउन उल्लंघन गर्ने सवारीबाट सय दिनमा २० लाख राजश्व संकलन

नौलो समाचार संवाददाता
२०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ७८७ पटक पढिएको
काभ्रेमा लकडाउन उल्लंघन गर्ने सवारीबाट सय दिनमा २० लाख राजश्व संकलन

असार १९, काभ्रे । सरकारले घोषणा गरेको लकडाउनको १ सय दिन बितिसक्यो । सरकारले लकडाउनबारेमा गरेको पछिल्लो निर्णयसँगै लकडाउन खुकुलो गरिएकाले सडकमा सवारी बाक्लै रुपमा गुडेको देखिन्छ । लकडाउन खुकुलो भएपनि सवारी चेकजाँचलाई भने ट्राफिक प्रहरीेले निरन्तरता दिइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सवारी चेकजाँचकै क्रममा पछिल्लो समय लकडाउन उल्लंघन गर्नेको संख्या बृद्धि हुनुको साथै ट्राफिक नियमको पालना समेत नगरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए । उनका अनुसार लकडाउन उल्लंन गर्नेको सङ्ख्या बृद्धि भएसँगै राजश्व संकलनमा पनि बृद्धि भएको छ ।

लकडाउनको सय दिनसम्ममा जिल्लामा अनावश्यक रुपमा गुडेका २३ सय ५० सवारीलाई प्रहरीले नियन्त्रणमा लिइएको कार्यालयको विवरणमा उल्लेख छ । नियन्त्रणमा लिएका सवारी दिनभर प्रहरी कार्यालयको नियन्त्रणमा रहने र साँझ ट्राफिक नियम अनुसार १ हजार रुपैँया जरिवानापश्चात सवारी छोड्ने कानुनी प्रावधान रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए । लकडाउन उल्लंघन गरेका उक्त सवारीबाट कार्यालयले २० लाख ४ हजार राजश्व संकलन गरेको उनले जानकारी दिए ।

कार्यालयको तथ्याङक अनुसार लकडाउनको सय दिनमा प्रहरीले नियन्त्रणमा लिएको ९ सय ४७ ट्रकबाट ८ लाख ८६ हजार, ४ वटा बसबाट २५ सय, ३१ वटा कार/जिप/भ्यानबाट १६ हजार ५ सय र १३ सय ६८ मोटरसाइकलबाट १० लाख ९९ हजार राजश्व संकलन गरेको कार्यालयको विवरणमा उल्लेख छ ।

चैत्र ११ देखि मसान्त सम्ममा लकडाउन उल्लंघन गर्ने २ सय ५० सवारीबाट कार्यालयले १ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार वैशाख महिनामा नियन्त्रणमा लिएका ४ सय सवारीबाट ३ लाख ६१ हजार ५ सय रुपैँया संकलन भएको थियो ।

त्यस्तै जेठ महिनामा १ हजार ९७ सवारीबाट ९ लाख ५४ हजार रुपैँया राजश्व संकलन भएको कार्यालयले बताएको छ । तुलनात्मक रुपमा हेर्दा जेष्ठ महिनामा धेरै सवारी नियन्त्रणमा परेको देखिन्छ । असार १७ गतेसम्ममा नियन्त्रणमा लिइएका ६ सय ३ सवारीबाट ५ लाख ११ हजार ५ सय रुपैँया संकलन भएको कार्यालयको विवरणमा उल्लेख छ ।

source: bethanchokkhabar.com

प्रतिक्रिया दिनुहोस