खड्गप्रसाद ओलीका पक्षमा

घनेन्द्र अाेझा
२०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ८४५ पटक पढिएको
खड्गप्रसाद ओलीका पक्षमा

असार २३, काठमाडौं । खड्गप्रसाद ओली अथवा केपी शर्मा ओलीका पक्षमा उभिनु आजका मितिमा निकै हितकर लागेर यो आलेख उनै खड्गप्रसाद ओलीका नाममा समर्पित गरेको छु ।

मैले खड्गप्रसाद ओलीलाई प्रत्यक्ष रूपमा आजसम्म देखेको छैन । पत्रपत्रिकामा उनको फोटो र टेलिभिजनमा उनको अनुहार भने म बच्चा हुँदादेखि नै देखेको हुँ, बारबार । उनको चिम्से र ख्याउटे अनुहारमा चुच्चो नाक अनि त्यही नाकको डाँडीमा अडिएको आँखाको वरिपरिको आकारभन्दा ठूलो चस्मा लगाएको फोटो एकताका निकै देखेको हुँ पत्रपत्रिकामा ।

मलाई २०४६ सालयताको नेपालको सामाजिक, राजनीतिक अवस्थाबारे धेरै जानकारी छ । कतिपयलाई भने प्रत्यक्ष भेटेर नै चिनेको छु- मेरातर्फबाट । र, यसबीचका सबैजसो राजनीतिक नेतालाई चिनेको छु- ट्रम्प वा पुटिन अथवा सी चिनफिङ र मोदीलाई जसरी नै ।

अरूका बारे चर्चा र चासोको विषय होइन अहिले । यसबेला म केपी ओली अर्थात् खड्गप्रसाद ओलीका बारेमा मात्र कुरा गर्दै छु ।

मैले खड्गप्रसाद ओलीलाई चिनेको लगभग ३० वर्ष भएछ । केपी ओली मात्र भनेर चिनेको हुँ सुरुमा उनलाई । तत्कालीन नेपाली राजनीतिमा अर्थात् २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि लगभग ३ वर्ष उनी ‘होस्टेल’ (त्यसबेला जेलमा रहनेहरू ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रितलगायतले जेललाई होस्टेल भन्थे रे !)मा रहेकै अवस्थामा थिए । यसको आसय केपी ओली २०५० सालसम्म नेपाली राजनीतिको केन्द्रमा आइसकेका थिएनन्, किनभने उनी राजनीतिको चर्चामा थिएनन् ।

३ जेठ २०५० मा नेपाली राजनीतिमा एउटा भयानक दुर्घटना भयो- दासढुंगा काण्ड । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा भन्ने ठाउँमा कार दुर्घटनामा परी निधन भयो ।

उक्त दुर्घटनापछि नेपालको राजनीतिमा एउटा सन्त्रास, भय र आतङ्क मच्चियो । कारण थियो, केही समयपहिला अमेरिकाबाट प्रकाशन हुने एउटा अखबारले मदन भण्डारीमाथि लेखेको थियो- ‘नेपालमा मार्क्सको जन्म ।’

यति ठूलो महत्त्व दिएर अमेरिकी अखबारले मदन भण्डारीका बारे प्रकाशन गरेको केही समयमै मदन ‘दुर्घटना’मा परे र ‘दोस्रो मार्क्स’को अन्त्य भयो ।

यो सन्दर्भका लागि मात्र उल्लेख गरिएको हो ।

प्रसंग पुनः खड्गप्रसाद ओलीकै ।

उक्त दुर्घटनापश्चात् तत्कालीन नेकपा एमालेमा अनौठो ढंगले हावी हुँदै गएका हुन् केपी ओली । निकै तीखो र चोटिलो पाराले अभिव्यक्ति दिन खप्पिस ओलीका भाषण हुन् वा सामान्य कुराकानी सुन्दा पनि निकै रमाइलो लाग्थ्यो । बच्चादेखि वृद्धसम्मका लागि निकै मनोरञ्जन हुन्थ्यो केपी ओलीका ‘गफ’ शैलीका भाषण सुन्न ।

पछि मध्यावधि निर्वाचनपश्चात् बनेको एमालेको ९ महिने सरकारका बेला गृहमन्त्री बनेपछि केपी ओली एकाएक चर्चामा आए । नेपाली राजनीतिमा अप्रत्यासित रूपमा शानपूर्वक उदाए ओली ।

तत्कालीन नेकपा एमालेमा मदनपछिको नेतृत्वमा आएका माधवकुमार नेपालले ओलीलाई निकै लामो समयसम्म ढिम्किन दिएनन् । ओलीप्रति सदैव अनुदार रहेका नेपालले ओलीलाई ‘राम्ररी चिनेका’ हुनाले सधैँ दबाबमा राखिरहे ।

त्यसो त ओलीले अहिले आफू पार्टी नेतृत्वमा रहँदा माधव नेपाललाई ऐठन पर्ने गरी थिच्नुको कारण पनि त्यही रहेको जानकारहरू बताउँछन् । नेपालले ऊबेला ओलीमाथि गरेको व्यवहारको बदला हो अहिलेको ओलीको नेपालप्रतिको व्यवहार र त्यसैका कारण आज नेकपा एकताका काम नसकिई पुनः फुटको बाटोमा छ ।

ओली महात्म्य नै यस लेखको मूल ध्येय भएकाले पाठकहरूले यस आलेखलाई आलोचनाको पाटोबाट नपढिदिनुहुन वा आलोचना यस आलेखमा नखोजिदिनुहुन विनम्र आग्रह गर्छु ।

म ओली उदयको कथामा छु ।

केपी ओलीको नेपाली राजनीतिमा अप्रत्यासित उदयपछि, यहाँ यो ‘अप्रत्यासित’ किन जोडियो ? १४ वर्ष देश र जनताका खातिर जेलनेल भोगेका ‘राजनेता’लाई अप्रत्यासित उदय भनेर हेप्नी ? भन्न सक्नुहुन्छ । तर, मैले केपी ओलीसँग भेट नभए पनि, उनको सङ्गत नगरे पनि उनीसँगै लामो समय जेल बसेकाको सङ्गत गरेको छु, उनीहरूलाई चिनेको छु । ओलीसँगै लामो समय जेल बसेकाहरूका अनुभव, बुझाइ र भोगाइ पनि राम्ररी सुनेको छु, ओलीका बारेमा ।

यस आधारमा भन्न सक्छु कि ओलीको उक्त उदय प्रत्यासित कुनै हालतमा होइन । त्यसो त उनको समग्र राजनीतिक यात्रा पनि अप्रत्यासित रूपमै मूलधारमा आएको हो । राजनीतिक कारणले जेल परेका आरके मैनाली, सीपी मैनाली, मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारीहरू जिउँदै छन्, उनीहरूलाई सोध्दा प्रस्ट होला, जो गोलघरमा लामो समय केपी ओलीसँगै थिए ।

यहाँ त्यो सबै कुरा पनि यस लेखको विषय होइन ।

र, मलाई ओलीको आलोचना गर्न पटक्कै मन छैन अहिले ।

जेलभित्र रहँदाको सम्झना गर्दै केपी ओलीसँगै जेल बसेकामध्ये उनका निकट एक जनाले भनेका छन् यो पंक्तिकारसँग- ‘मोहनचन्द्र अधिकारीलाई नै त्यसबेला नेता मान्थे, अरू निमित्त नायक थिए, केपी ओलीको त जेलमा हुँदा गणना नै थिएन, कसैले चिन्दैनथे ।’

१४ वर्षसम्म जेलमा बसेका ‘नेता’लाई २०४६ सालसम्म कसैले नचिन्नु भनेको केपी ओलीको राजनीतिक हैसियत केही पनि नहुनु नै थियो भन्ने निष्कर्षमा म पुगेको थिएँ यो कुरा सुन्दा । त्यसैले भनेको हुँ- २०५० सालपछि अप्रत्यासित वा एकाएक नेपाली राजनीतिमा आएका हुन् ओली ।

त्यसयता केपी ओलीलाई नेकपा एमाले निकै फाप्यो । फाप्यो यस अर्थमा कि त्यसबेलाका निकै गतिला भनिएका सीपी मैनाली, आरके मैनाली, भरतमोहन अधिकारीहरूलाई समेत छायामा पारे । र, आठराईकै उत्पादन (पछि झापाका छिमेकी र अलिक परका आफन्तसमेत) मैनाली दाजुभाइलाई पाखा लगाएर एमालेमा छाउन सफल भए ओली ।

ओलीका केही ‘अमूल्य’ विशेषता छन्, जसका कारण उनी सधैँजसो सत्ता र पार्टीको केन्द्रमै बसिरहेका हुन्छन् ।

ओलीलाई पार्टी वा देशभन्दा माथि ‘आफ्नाहरू’ लाग्छ । उनी आफ्नाहरूलाई कहिल्यै चिढ्याउँदैनन् र आफूबाट कहिल्यै टाढा हुन दिँदैनन् । जेलमै रहँदा औपचारिक शिक्षा लिन नपाए पनि अनौपचारिक वा स्वअध्ययनबाट शास्त्रदेखि राजनीतिसम्मका धेरै पुस्तक उनले पढिसकेका छन् ।

उनका हरेकजसो अभिव्यक्तिमा आउने ‘टुक्का’मिश्रित लवज त्यसकै परिणाम हो भन्छन् उनलाई जान्नेहरू ।

उसो त म के कुरामा पनि विश्वस्त छु भने, ओलीमा बहुप्रतिभा छ । बहुक्षेत्रको ज्ञान छ । यदि उनमा यी कुरा थिएनन् भने विदेशका कुनै पनि विश्वविद्यालयले उनलाई ‘मानार्थ विद्यावारिधि’का ४-४ वटा तक्मा भिराइदिने थिएनन् । उनी ४ वटा ‘डक्टरेट’ उपाधिप्राप्त हामी नेपालीले सदैव गर्व गर्नलायक नेता हुन् ।

उनको उक्त ‘विज्ञता’प्रति पनि मलाई गर्व छ, जुन अहिलेको कोरोना महामारी, जसका कारण अतिसम्पन्न र औषधि विज्ञानमा चरम सफलता प्राप्त गरेका देशहरू समेत आच्छुआच्छु भएका छन्, त्यस्तो बेलामा नेपाली जनतालाई बेसार र कागती खाएरै कोरोना ठीक हुने अर्ति बारम्बार दिइरहेका छन् ।

संक्रमण रोक्न, क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन गर्नभन्दा बेसार-पानी खाएर दह्रो हुन सजिलो छ, राष्ट्रको ढुकुटी पनि जोगिन्छ र मन्त्री तथा ‘आफन्त’लाई पछि त्यही ‘जोगिएको’ राज्यकोषलाई बाँड्न सहज हुन्छ ।

यति गरेपछि आफ्नाहरूको मन पनि रहने भयो, ‘मेरो १० वर्ष ओलीलाई’ भन्दै आफन्तहरू सडकमा निस्किने भए, अरूले सरकार र आफ्नो विरोध गर्दा ‘भीडभाडमा कोरोना लाग्ने’ भए पनि आफ्नो जयजयकार गर्दा तिनलाई कोरोनाले नदेखेर माइतीघरको घुमाउरो बाटो नहिँडेर कोरोना थापाथली हुँदै पुल्चोकतिर लाग्छ, अनामनगरबाट हनुमानथान हुँदै मैतीदेवीतिर हानिन्छ कोरोना ।

मलाई केपी ओली असाध्यै मनपर्नुका अनेक कारण छन् । मैले माथि नै भनेको छु- यस आलेखमा केपी ओलीको आलोचना गरिदेओस् भन्ने पाठकलाई लागेको भए क्षमा चाहन्छु, म उनको आलोचना गर्ने पक्षमा छैन आज ।

केपी ओलीको ‘राष्ट्रवाद’प्रति त म यतिसम्म विश्वस्त छु कि २ दशकअघि तत्कालीन नेकपा एमाले विभाजन गरेरै भए पनि उनले आफ्नो ‘राष्ट्रवादी’ छविलाई मर्न दिएनन् । महाकाली सन्धि नामको कलङ्क भलै आजसम्म उनको निधारमा टाँसिएको छ । त्यो नबुझेर लगाइएको कलङ्क हो भन्नेमा पनि म ढुक्क छु । किनभने त्यसबेला ‘जसको जौ खानु, उसको जुँगा मोल्नु’को अवस्था सिर्जना हुन सक्थ्यो, जुन राष्ट्रघाती कदम थियो, यदि महाकाली सन्धि नगरेको भए ।

बरु पार्टी त आज फुट्छ, भोलि जुट्छ, के फरक पर्छ र ! यस्ता ‘राष्ट्रवादी’ सन्धि, जसले नेपाललाई ‘नसोचेको’ फाइदा पुग्छ, त्यो नगर्दा पो हानि हुन्छ त ! भनेर नै ओलीले पार्टी फुटाएरै महाकाली सन्धि गराएका हुन् । आज हेर्नुहोस् त उक्त सन्धिका कारण नेपाललाई भइरहेको हित कत्रो छ ? नेपाललाई भइरहेको हित नदेखे ओली स्वयंलाई भएको हित हेरेर भए पनि चित्त बुझाउनुहोस् । २-२ पटक गणतन्त्र नेपालको प्रधानमन्त्री भइसके, ठूलो कम्युनिस्ट पार्टीका अध्यक्ष छँदै छन् ।

यी ओलीका महत्त्वपूर्ण र ऐतिहासिक प्राप्तिका पछाडि तपाईंले नदेख्नुभएको त्यही महाकाली सन्धिको छाया छैन र !

केपी ओलीको ‘राष्ट्रवाद’ २०७२ मा नयाँ संविधान जारीपछि भारतले लगाएको नाकाबन्दीका समयमा देखिएको हो सबैभन्दा धेरै । त्यसबेला केपी ओलीको प्रधानमन्त्रीत्वकालमा भारतले त्यस्तो चरम दुःख दिँदा पनि अलिकति पनि नझुक्ने केपी नै होइनन् । उनको राष्ट्रवादले उनलाई कतिले त ‘राजनेता’ उपाधि दिइसके । तथापि, राजनेताको अर्थ र महत्त्व उनीहरूलाई थाहै नहोस् ।

उनको उक्त राष्ट्रवादी छविले आजपर्यन्त निरन्तरता पाइरहेको छ । तर, उनले भारतसँग ‘लडाइँ’ गरेरै आजसम्म आफ्नो पद टिकाइरहेका छन् भन्नेमा विश्वस्त हुन नसक्नु बरु मेरै कमजोरी हो ।

मलाई केही कुरामा विश्वास नलाग्नु मेरो साँच्चै कमजोरी नै हो । यस्तै कमजोरी ओलीको राष्ट्रवादी छविमा पनि छ मेरो ।

पछिल्ला केही चर्चित काण्डमा छिरौँ, जसमा ओलीको खेदो खनिरहेका छन् उनका आलोचक ।

केपी ओलीको प्रधानमन्त्रीमा दोस्रो इनिङ बढी अपेक्षाले भरिएको थियो । उनको अडानिलो र डेगिलो स्वभाव, राष्ट्रवादी छविका कारण म मात्र होइन, आमजनता उनीप्रति बढी आशावादी थिए । उल्कै भरोसा थियो उनीमाथि । त्यसमाथि पनि ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना र ‘भ्रष्टाचारमा शून्य सहनशीलता’का कारण त म जस्ता धेरै ले ओलीलाई ‘राष्ट्रवादी’ मात्र होइन, ‘महान् राष्ट्रवादी’ भन्न हिच्किचाउने अवस्थै थिएन । अझ विकासप्रेमी र जनप्रेमी पनि थप्न मन लागिरहेको थियो ।

यसैबीच दुष्ट कोरोना भाइरसको आगमनले केपी ओलीको छविमा धुलो फ्याँक्यो । त्यसअघि नै ‘मानसपुत्र’ समान तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ओलीको पिठ्युँ भिजाइदिए- ७० करोडको ‘सुसु’ गरिदिएर । सँगसँगै ओम्नी नामको कम्पनीमार्फत् केही अरौटेभरौटेले गरी खाऊन् न त है भनेर आँखा चिम्लिदिएकै भरमा आफ्ना प्रमुख सल्लाहकारदेखि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसम्म मुछिए ।

उता, अरू पार्टी फुटाऊ, आफू मस्ती गरको रणनीतिमा समाजवादीका सांसद डा. सरोज यादवलाई ‘ससम्मान’ कोरोना कहरका बीच पूर्वआईजीपीसमेतको ‘सहयोग’ लिएर काठमाडौं मात्र के ल्याएका थिए, ‘सांसद अपहरण’ आरोप उनै ओलीमाथिसमेत लगाइदिए ।

के आफ्नो पार्टी र आफ्नो पद अनि सत्ता जोगाउन यस्ता ‘सामान्य’ काम गर्नु ओलीको अपराध नै हो ?

चर्चित ‘ललितानिवास’ जग्गा प्रकरणको छानबिन त उनै केपी ओलीकै पहलमा भएको सबैलाई थाहै छ त ! के सरकारको लुटिएको जग्गा फिर्ताको पहल गर्नु उनको कमजोरी हो ? आफ्नै महासचिवलगायत पूर्वशीर्ष नेतासमेत जोडिएको उक्त प्रकरणलाई बाहिर ल्याएर ओलीले के बिगारे ? भलै, आफ्ना महत्त्वपूर्ण नेता नै त्यसमा मुछिएर विवाद चुलिएपछि ओली आफैँ चुपचाप छन् उक्त प्रकरणमा । तर, घटना त लुकाइदिएनन् नि !

अँ, यहीँ अर्को कुरा पनि उल्लेख गरौँ । ओली मनपर्नुका कारणमा मैले माथि पनि भनेको छु कि उनी आफ्ना मान्छे जस्तोसुकै अवस्थामा, जस्तासुकै काण्डमा मुछिए पनि तीप्रति सद्भाव राखिरहन्छन्, प्रेम गरिरहन्छन्, साथ दिइरहन्छन्, च्यापिरहन्छन् । यो एउटा खास ‘राजनेता’को अमूल्य गुण हो भन्ने लाग्छ ।

उदाहरणका रूपमा पूर्वमन्त्री बाँस्कोटालाई आफ्नै घरको रुँगालु राखिरहेकै छन्, उनीमाथि छानबिनको सशक्तता देखिँदैन, ओम्नी प्रकरणका आरोपीलाई प्रमुख सल्लाहकारको जागिर दिइरहेकै छन् भने अर्का २ मन्त्रीलाई च्यापिरहेकै छन् ।

यति मात्र होइन, ललितानिवास प्रकरणमा मुछिएका महासचिव विष्णु पौडेप्रतिको उनको भरोसा थामी नसक्नु नै पो छ त !

अनि केपी ओलीलाई नमान्नुपर्ने, केपी ओलीको जयजयकार नगर्नुपर्ने, केपी ओलीको खेदो खन्नुपर्ने कारण के ? म छक्क परिरहेको छु ।

अन्त्यमा, केपी ओलीले नेपाली राजनीतिमा जेजे भोग्नुपर्ने हो, भोगिसकेका छन्, जेजे पाउनु (नपाउनु पनि कि)पर्ने हो, ती पनि पाइसकेका छन्- जस्तो कि पार्टी अध्यक्ष, जुन उनको स्वभावले दिँदैन, किनभने उनी अत्यन्त आग्रही र सामन्ती स्वभावका छन् भन्छन् उनलाई चिन्नेहरू ।

गणतन्त्रको आन्दोलन चलिरहेका बेला, सात दलका नेता, कार्यकर्ताले स्वतन्त्रता प्राप्तिको आन्दोलनमा टाउको फुटाउँदै गर्दा, हात-खुट्टा सुरक्षाकर्मीबाट भचाउँदै गर्दा केपी ओली कोठाभित्र बसेर भन्दै थिए- ‘गोरु गाडा चढेर अमेरिका पुगिँदैन ।’

आखिर गणतन्त्रपछि पनि उनी २ पटक मुलुकका कार्यकारी प्रधानमन्त्री पनि उनले पाइसके, जुन उनको बुताभन्दा बाहिरको हो भन्छन् उनको सङ्गत गर्नेहरू । उनी कामभन्दा गफमा बढी विश्वास गर्छन् र यस्ता व्यक्तिलाई मुलुक सञ्चालनको कार्यकारी भूमिका उपयुक्त होइन भन्ने उनका आलोचकको मत छ ।

तर, मलाई यस्तो लाग्दैन । केपी ओली यी माथिका सबै गुण (?)ले युक्त व्यक्तित्व भएका कारण पनि यो पटक पटक अराजकताको चपेटामा परेको मुलुकका लागि एक मात्र उपयुक्त विकल्प हुन् ।

जय होस् केपी ओली उर्फ खड्गप्रसाद ओलीको ।

Source: shilaptra.com

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!