काभ्रेमा लागु औषध प्रयोग बढ्दो क्रममा

नियन्त्रणको लागि सरोकारवालाले देखाए चासो
नौलो समाचार संवाददाता
२०८० चैत्र २६, सोमबार मा प्रकाशित १०८ पटक पढिएको
काभ्रेमा लागु औषध प्रयोग बढ्दो क्रममा

धुलिखेल /  जिल्लामा लागु औषधको प्रयोग बढ्दो क्रममा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याकं अनुसार, चालु आर्थिक बर्षको हालसम्मको अवधीमा लागु औषध सेवन तथा ओसारपसारका १५ मुद्दा दर्ता भएका छन् । सेवनका ८ र ओसारपसारका ७ मुद्दामा ३२ जना संलग्न छन् ।

कानूनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का अनुसार, आर्थिक बर्ष २०७९/ ८० मा ७ मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष २०८०/ ८१ मा १३ मुद्दा दर्ता भएका थिए । ‘बर्षेनी बढेपनि मुद्दा, पक्राउ पर्नेको संख्या र बरामद परिणाम कम नै हो,’ एसपी खड्काले भनिन्, ‘लागुऔषध सेवन तथा ओसारपसार नियन्त्रणका गर्नको लागि सूचना महत्वपूर्ण हुने भएकोले परिवार वा समुदाय नै सचेत नभएसम्म प्रहरीबाट मात्रै नियन्त्रण सम्भव छैन ।’

एसपी खड्का अनुसार, १८ देखि २५ उमेर समूहका १२ पुरुष, २६ देखि ३५ उमेर समूहका १५ पुरुष, ३६ देखि ४५ उमेरसमूहका २ पुरुष र ४६ देखि ५९ उमेर समूहका २ पुरुष र १ महिलालाई लागु औषध सेवन तथा ओसार पसारमा मुद्दा चलाइएको छ ।

प्रहरीले हालसम्म ओसारपसारका क्रममा ३ सय २५ किलो ६९० ग्राम गाँजा र ३८ ग्राम खेरो हेरोइन बरामद गरेको छ भने सेवनका क्रममा डाइजिपाम ४ एम्पुल, नोफिन ३ एम्पुल, फेनारगन २ एम्पुल, निट्राभेट ५ सय १० ट्यावलेट, कोरेक्स ३ बोतल र गाँजा ३ किलो ५१० ग्राम बरामद गरेको छ । एसपी खड्काले काभ्रेमा पनि लागु औषध र लागु पदार्थका उत्पादन हुने भएपनि त्यसको तुलनामा काभ्रेलाई ट्रान्जिट बनाउने बढी पाइएको बताइन् । उनका अनुसार, चालू आर्थिक बर्षमा २० हजार गाँजाका बोट फडानी गरिएको छ भने विभिन्न स्थानमा २० पटक गरेर ५ सय ८३ जनालाई सचेतना कार्यक्रम गरिएको छ ।

 

नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ को तथ्याकं अनुसार, नेपालमा १ लाख ३० हजार ४ सय २४ लागु औषध प्रयोगकर्ता छन् । ती मध्ये ९३ दशमलव ३ प्रतिशत पुरुष र ६ दशमलव ७ प्रतिशत महिला छन् । बार्षिक ५ दशमलव ०६ प्रतिशतले बृद्धि भइरहेको पनि सर्वेक्षणले देखाएको छ ।

सो सर्वेक्षण अनुसार, औसतमा १९ बर्ष भन्दा कम उमेरमा नै पहिलो पटक लागु औषध, लागु पदार्थ सेवन गर्न शुरु गरिसकेका हुन्छन् । सुरुवाती प्रयोगकर्ता मध्ये ८० दशमलव ४ प्रतिशतले गाँजा, ९ दशमलव ४ प्रतिशतले डाइजिपाम र ९ दशमलव २ प्रतिशतले अफिम प्रयोग गरेको पाइएको थियो । प्रयोगकर्ता मध्ये बेरोजगारी ३९ दशमलव ७ प्रतिशत, ज्यालामजदुरी १५ दशमलव ९ प्रतिशत र व्यापारी १५ दशमलव ६ प्रतिशत छन् । प्रयोगकर्ता मध्ये २० देखि २४ बर्ष उमेर समूहका ३४ दशमलव ३ प्रतिशत र २५ देखि २९ बर्ष उमेर समूहका ३५ दशमलव २ प्रतिशत छन् । ६७ दशमलव ७ प्रतिशतले साथी, संगतबाट प्राप्त गर्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सचेतनासंगै नियन्त्रण अभियान सञ्चालन गर्ने बताइन् । ‘काभ्रेमा पक्राउ पर्नेको संख्या र बरामद परिणाम कम नै देखिएको छ, अब सबै सरोकारवालासंग समन्वय गरेर सचेतनासँगै नियन्त्रण अभियान चलाउनुपर्छ,’ उनले भनिन्, ‘यसबारे सुराकी, सूचना पायो भने यो छिटो नियन्त्रण हुन्छ, परिवारलाई सचेतना गराउने सोच बनाएका छौं । ’ उनले विद्यार्थी, युवा कुलतमा पर्न सक्ने भन्दै परिवार, शिक्षकसहितलाई जनचेतनाको आवश्यकता रहेको बताइन् । उनले आपूर्ति नियन्त्रण गर्न सुरक्षा कडाई गर्ने पनि जानकारी दिइन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले लागु औषधको लत हटाउनको लागि युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने तर्क गरे । उनले औषधी पसलहरुको अनुगमन आवश्यक भएको औल्याए ।

जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले विद्यालय छोडेका र माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

अस्पताल र औषधी व्यवसायीहरुले नियन्त्रित औषधीहरु अभिलेख राखेर चिकित्सकको सल्लाहमा नै विक्री वितरण गर्ने गरेको बताए ।

काभ्रे औषधी व्यवसायी संघ काभ्रेका महासचिव गोकूल धितालले अभिलेख राखेर मात्रै विरामीलाई औषधी दिने गरेकोले व्यवसायीले बदमासी नगरेको तर्क गर्दै नियमित अनुमगनको आवस्यकता औल्याए ।


प्रतिक्रिया दिनुहोस