कोरोनाले पूरै शरीरमाथि असर पुर्‍याउँछ ? यस्तो छ अध्ययनको निष्कर्ष

नौलो समाचार संवाददाता
२०७७ अषाढ २८, आईतबार मा प्रकाशित ११८८ पटक पढिएको
कोरोनाले पूरै शरीरमाथि असर पुर्‍याउँछ ? यस्तो छ अध्ययनको निष्कर्ष

असार २८, एजेन्सी । कोरोनाभाइरसले फोक्सोलाई मात्र नभएर, बिरामीको मृगौला, कलेजो, मुटु, मष्तिस्क, स्नायु प्रणाली, छाला र ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्ट अर्थात् आन्द्रालाई समेत नराम्ररी क्षति पुर्‍याउने शुक्रबारको कोभिड–१९ रिपोर्टले देखाएको छ ।

यसमा न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटी इर्भिङ मेडिकल सेन्टरका अध्ययनकर्ताहरुको टोलीले आफ्नै अनुभव र विश्वभरका स्वास्थ्यविद्हरुबाट रिपोर्ट संकलन गरि यो निस्कर्ष निकालेका हुन् ।

सो अस्पताल यसअघि कोभिडका बिरामीले भरिभराउ सबैभन्दा व्यस्त अस्पताल थियो ।

यसरी उनीहरुको रिसर्चबाट के पत्ता लागेको छ भने कोरोनाभाइरसले अज्ञात रुपमा मान्छेको शरीरका सबै प्रमुख प्रणालीहरुमा हमला गरिरहेको हुन्छ जसको सीधा असर स्वरुप अङ्ग फेल हुने र रगत जम्ने, मुटुको ढुकढुकीमा अवरोध पुग्ने, मृगौलाबाट रगत अनि प्रोटिन निस्कने र छालामा पनि डाबरलगायत विभिन्न समस्या आउने गरेको छ ।

यतिमात्रै नभएर यसका कारण टाउको दुख्ने, रिँगाटा चल्ने, मांसपेसी दुख्ने, पेट दुख्नेलगायत श्वासप्रश्वास सम्बन्धी लक्षण जस्तै खोकी र ज्वरो आउने पनि हुन्छ ।

यसबारे कोलम्बियामा कार्यरत कार्डिओलोजीकी डाक्टर आकृति गुप्ता भन्छिन्, “फिजिसियनहरुले कोभिड–१९ लाई ‘मल्टि–सिस्टम’ रोग अर्थात् विविध प्रणाली अन्तर्गतको रोगका रुपमा हेर्नुपर्छ । हालसम्म रगत जम्ने सम्बन्धी थुप्रै खबरहरु आइसकेका छन् तर हामीले यसको अर्को महत्वपूर्ण पक्षबारे पनि बुझ्न उत्तिकै जरुरी छ जसमा बिरामीले मृगौला, मुटु र दिमागी क्षतिबाट पनि गुज्रिनुपर्ने हुन सक्छ र श्वासप्रश्वाससँगै फिजिसियनले सो अवस्थाको पनि उपचार गर्नुपर्ने हुन्छ ।”

यो भाइरस रिसेप्टरसँग जोडिएकाले पनि शरीरमा यति धेरै क्षति पुर्‍याउन सक्षम रहेको उनीहरुको भनाइ छ ।

रिसेप्टर, सेलमा प्रवेश गर्ने माध्यम हो जसलाई एसीइ २ पनि भनिन्छ । यस्तोमा मृगौला, कलेजो, फोक्सो, आन्द्रा, प्यानक्रियाज आदिका रगत नलीको सतह एसीइ २ रिसेप्टर सेलले ढाकिएका हुन्छन् जसलाई नै भाइरसले संक्रमण फैलाउनका लागि प्रयोग गर्ने रिसर्च टोलीले जर्नल नेचर मेडिसिनमा प्रकाशित अध्ययनमा उल्लेख गरेको छ ।

त्यसमा लेखिएको छ, “हाम्रो वैज्ञानिक खोजकाअनुसार सेल र टिस्युहरुमा पुग्ने प्रत्यक्ष क्षतिका कारण नै एक भन्दा बढी अङ्गमा सिधा क्षति पुग्ने गर्दछ ।”

त्यस्तै कोरोना भाइरसको संक्रमणले हाम्रो प्रतिरोधात्मक प्रणालीलाई पनि सक्रिय पार्ने गर्दछ । र त्यही प्रतिक्रियामा ‘इन्फ्लामेसन’ गराउने प्रोटिन, ‘साइटोकाइन्स’ को उत्पादन भइरहेको हुन्छ ।  यस किसिमको इन्फ्लामेसनले सेल र अङ्गहरुमा ठूलो क्षति पुर्याउन सक्छ र यही साइटोकाइन्स अधिक मात्रामा भएका कारण कोरोनाका बिरामीमा गम्भीर लक्षण देखा पर्ने गरेको हो ।

प्रतिक्रिया दिनुहोस