सार्वजनिक यातायात चलाउन व्यवसायी तयार

'केन्द्रीय महासंघ'सँग सहमति, 'राष्ट्रिय महासंघ'सँग सोमबार छलफल
नौलो समाचार संवाददाता
२०७७ श्रावण ४, आईतबार मा प्रकाशित ५६० पटक पढिएको
सार्वजनिक यातायात चलाउन व्यवसायी तयार

साउन ४, काठमाडौं । सरकारको निर्णयअनुसार सोमबारबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।

तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध सार्वजनिक सवारी चलाउनेबारे भनेे सोमबार यातायात व्यवस्था विभागसँग छलफल हुने भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले भने सोमबारदेखि नै गाडी चलाउनेबारे विभागसँग आइतबार सहमति गरेको हाे ।

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरु सवारीसाधन सञ्चालनका लागि तयार भएका हुन् ।

मौद्रिक नीतिमार्फत माग सम्बोधन भएपछि सुरक्षित तवरले यातायात सञ्‍चालनबारे सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने भएको हो । महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भोलि १ बजे यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने कार्यक्रम छ ।’

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले स्वास्थ्य सावधानी बलियो रुपमा नअपनाइ गाडी चलाउन नसकिने भनाइ दोहोर्‍याए ।

सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरुले विभिन्न माग राख्दै आएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए।

अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् ।

साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु यसअघि नै सञ्चालनमा रहेका छन् ।

व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस