निजी विद्यालय र शिक्षकको समस्या कसले बुझ्ने ? यो अवस्थामा राज्य मौन बस्न मिल्दैन !

अमृता महत 'अबिरल'
२०७७ श्रावण ५, सोमबार मा प्रकाशित १४५१ पटक पढिएको
निजी विद्यालय र शिक्षकको समस्या कसले बुझ्ने ? यो अवस्थामा राज्य मौन बस्न मिल्दैन !

साउन ५, काभ्रे। शिक्षा मानिसलाई अध्यारोबाट उज्यालोतर्फ लिएर जाने एक शसक्त माध्यम हो । आज विश्वमा भएका विकासका कार्य, विज्ञान र प्रविधिको क्षेत्रमा भएका विकास र विस्तार सबै शिक्षाकै उपज हुन् । हिजो मानिस जङ्गलमा बस्थ्यो, कन्दमुल खान्थ्यो, एक ठाउँबाट अर्काे ठाउँमा बँसाई सरिरहन्थ्यो । समयको कालखण्डसंगै शिक्षाको प्रसार भयो मानिसले आफ्नो जीवन कसरी सहज तरिकाबाट बिताउन सकिन्छ भन्ने विषयमा सोच्यो यसकोलागि उसले विभिन्न अध्ययन अनुसन्धान गर्यो र आज यो अवस्थामा आइपुग्यो । नेपालमा औपचारिक रुपमा शिक्षाको विकास २००७ सालपछि मात्रै भएको पाइन्छ । शिक्षाको विकास र विस्तार गर्ने क्रममा नेपालमा सरकारी तथा निजी विद्यालयहरु स्थापना भए र शिक्षा दिने र लिने कार्य अघि बढ्न थाल्यो, जसले नेपालमा शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिए र दिईरहेका छन् । आज नेपालका गाउँ शहर हरेक ठाउँमा शहरका गल्ली–गल्लीमा विद्यालय छन् जसले गर्दा शिक्षाको उज्यालो घामबाट कही कोही कुनै बालबालिका बञ्जित हुनु परेको छैन ।

भनिन्छ मानिसको व्यवहार परिवर्तन गर्दै मानिसलाई हरेक कुराको ज्ञान प्रदान गर्नकालागि शिक्षा सधै सहायक हुन्छ । शिक्षा लिने र दिने प्रक्रिया जीवन पर्यन्त चलिरहन्छ तर पछिल्लो समयमा विश्वमा पैलिएको कोरोना महामारीले अन्य क्षेत्रसँगै शैक्षिक क्षेत्र पनि आक्रान्त भएको छ । नेपालमा सरकारको निर्णयलाई शिरोपर गर्दै चैत्रको ५ गते कक्षा ९ सम्मको परीक्षा सकेका विद्यालयहरु अझै खुल्न सकेका छैनन् ।

कतियप विद्यालयहरुले विद्यार्थीहरु लामो समयसम्म घर बस्दा त्यसबाट पर्न सक्ने मनोवैज्ञानिक असरलाई समेत मध्यनजर गरी भर्चुअल कक्षा (ईन्टरनेट जोडेर कम्प्युटर, ल्यापटप, स्मार्टफोनको माध्यमबाट) सञ्चानल गरेका छन् । हाम्रो जस्तो विकासशिल देशमा विकसित देशमा जस्तो उच्च प्रविधि अपनाएर पढाउन र त्यस्ता प्रविधी विद्यार्थी तथा अभिभावकलाई सिकाउन थोरै गाह्रो कुरा थिएन तर पनि हार नमानी शिक्षकहरुले निरन्तर कक्षा सञ्चानल गरे । तर निजी विद्यायलहरुलाई समय–समयमा अन्यौल सिर्जना हुने गरेको छ । कहिले विभिन्न सञ्चार माध्यमहरुमा अनलाइन कक्षा बन्द गर्न सरकारले आदेश दिएको कुरा आउछ, कहिले अनलाइन कक्षा औपचारिक रुपमा सञ्चालन गर्नू भन्ने सूचना आउछ अनि कक्षा सञ्चालन गरेको एक हप्तामा शुल्क नलिनू भन्ने सूचना आउछ यसबाट विद्यालयहरु अन्यौलमा परेका छन् । अचेल निजी विद्यालयहरुले शिक्षकलाई तलब खुवाउन नसकेको कुराले खूब बजार तातेको छ । विभिन्न निजी विद्याालयहरुले शिक्षकहरुलाई मनोमानी अवकाश दिएको कुरा पनि सञ्चार माध्यममा आउन थालेका छन् । यसको विषयमा सरकारसँग विभिन्न माग राखेका प्याबसन तथा एन–प्याब्सनले आफ्ना माग पूरा नभएका कारण साउन १ बाट अनिश्चितकालीन रुपमा विद्यालय बन्दको घोषणा गरेका छन्, वास्तवमा यसो गर्नु रहर नभएर बाध्यता हो ।

यसरी विद्यालयहरु अनिश्चित कालकालागि बन्द गर्दा विद्यार्थीहरुले अनलाइनको माध्यमबाट भएपनि शिक्षा पाइरहेका थिए यो कुराबाट समेत बञ्चित भएका छन् । हुन सक्छ कतिपय विद्यालयहरुले आर्थिक भार थेक्न नसकेर शिक्षकहरुलाई अवकाश दिएका होलान् कतिपय विद्यालयको हकमा यी सब कुरा यथार्थ पनि होलान् तर वास्तवमा यस्तो गर्नु निजी विद्यालयहरुको रहर नभएर बाध्यता नै हो । विगत चार महिनादेखि विद्यालयहरु बन्द छन् । निजी विद्यालयको आयस्रोत भनेको विद्यार्थीहरुबाट लिने शुल्क हो, न विद्यालय खुलेका छन् न शुल्क नै लिन पाएका छन्, न शिक्षकलाई तलब नै । यसरी निजी विद्यालयका शिक्षक भोकै छन् र आफ्नो पिडा न कसैलाई सुनाउन सक्छन् ।

मानिसहरुले सामाजिक सञ्जालमा भनेको सुनिन्छ निजी विद्यालयहरुको नाफा खै? के ऋण लिएर तलब खुवाउन सक्दैनन् निजी विद्यालयहरु? जसले पनि यस्ता कुरा पोष्ट गर्नुभएको छ, तपाइँ भन्नुहोस् के सबै निजी विद्यालयहरु नाफामा छन् ? के ऋण लिएकै भरमा तलब खुवाएर निजी विद्यालय टिक्न सक्छन् ? अस्ति भर्खर असार मसान्तमा सरकारी विद्यालयका शिक्षक कर्मचारीहरुका चैेत्रदेखि असारसम्मको तलब आउने भन्ने खबर एकजनाले पोष्ट गर्नुभएछ र त्यसको कमेन्टमा एकजनाले लेखेका थिए, “यो हाम्रो मेहेनत र योग्यताको प्रतिफल हो” यो कमेन्टबाट सजिलै बुझिन्थ्यो की सरकारी वहाँ विद्यालयका शिक्षक हुनुहुन्थ्यो यो पढेपछि मेरो मन साह्रै अमिलो भएर आयो र आफैले आफैलाई प्रश्न गरे के आज जति पनि निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरु हुनहुन्छ सबै योग्यता क्षमता नभएका शिक्षक शिक्षिका हुन त ? आज जति शिक्षहरुले तलब पाएका छैनन् सबै अयोग्य भएर तलब नपाएका हुन् त ? यदि निजी विद्यालयमा अयोग्य शिक्षक हुन्छन् भने सरकारी र सामुदायिक विद्यालयको भन्दा योग्य विद्यार्थी किन निजी विद्यालयमा उत्पादन भएका छन् त ? सरकारी र सामुमायिक विद्यालयको तुलनामा किन निजी विद्यालयको नतिजा राम्रो छ ? के निजी विद्यालय सञ्चालकहरुले शिक्षकका योग्यता क्षमताको जाँचबुझ नगरी नियुक्ति दिन्छन् ?

हेर्नुहोस् सबै निजी विद्यालय नाफामा छैनन् र जति नाफामा छन् तिनीहरुले नाफालाई आफ्नो पेवा नबनाएर विद्यालयको शैक्षिक, भौतिकस्तर सुधार्दै आधुनिक पद्वती अनुसार कसरी शिक्षा दिन सकिन्छ भनेर लगानी गरेका छन् । शिक्षा विकासको मेरुदण्ड हो शिक्षा बिना विकासको कल्पना गर्न सकिन्न र वैज्ञानिक शिक्षा दिएर बद्लिदो समयअनुसारको शिक्षा दिने कार्यमा निजी विद्यालयहरु दिलोज्यानले लागिपरेका छन् । तर देशमा योग्य र दक्ष जनशक्ति निर्माण गर्ने निजी विद्यालय तथा शिक्षकहरु आज निकै कठिन अवस्थाबाट गुज्रिरहेका छन् । कतिपय विद्यालयहरु उठ्नै नसक्ने गरी थला पर्दैछन्, शिक्षकहरु भोकै छन् यो अवस्थामा राज्य मौन बस्न मिल्दैन । हुन त देशमा सरकार बिरामी छ आफ्नै आन्तरिक कलहले अझै निकास पाउन सकिरहेको छैन तर निजी विद्यालय र शिक्षकहरु पनि यहीँ देशका मानिस हुन् जसले आफ्नो व्यक्तिगत स्वार्थकालागि मात्र नभएर देशको मुहार फेर्ने सपना बोकेका छन् ती धराशय हुनु भनेको देशको शैक्षिक अवस्था धरासय हुनु हो त्यसकारण समयमा नै उचित निर्णय गरेर निजी विद्यालय र शिक्षकहरुको समस्यालाई सम्बोधन गर्नु आजको आवश्यकता भैसकेको छ । शिक्षक भोकै रहने अवस्थाले धेरै व्यक्तिहरुलाई शिक्षण पेशाप्रति नै वितृष्णा पैदा गर्न थालेको छ, यदि यस्तै अवस्था कायमै रहेमा शिक्षण पेशाबाट थुप्रै दक्ष जनशक्ति पलायन हुनेछन् र यसको घाटा निजी विद्यालयलाई मात्र नभएर सिङ्गो राष्ट्रलाई पर्नेछ ।

त्यसकारण यो समय भनेको बाँच्ने र बच्ने समय हो । सबै नेपालीहरु यही राज्यका जनताहरु हुन् । सरकारले लकडाउन खुकुलो बनाएपछि विस्तार उद्योग कलकारखाना, पसल खुल्न थालेका छन् दुई चार घण्टा पसल खोलेर भएपनि सबै जीवीकोपार्जनको मेलोमेसोमा लागेका छन् तर विद्यालय शिक्षकहरु भोकै छन्, उनीहरु शायद बेतलबी बिदामा छन्, यो समयमा अर्काे कुनै नयाँ काम सुरु गर्न सक्ने अवस्था पनि छैन । आखिरी खाई नखाई गरेर शिक्षा क्षेत्रमा योगदान दिने महान शिक्षकहरु आज घर न घाटको भएका छन्, काम पर्दा प्रयोग गरेर फाल्ने टिसियू पेपर जस्तो भएका छन् ।

यसमा राज्य किन मौन छ ? यसको बारेमा राज्यले केही सोच्नु पर्दे ? भोका जनतालाई राहत प्रदान गर्नु के राज्यको जिम्मेवारी होइन ? खाली निजी क्षेत्रको नाफा मात्र खोजेर हुन्छ ? आपतको समयमा एक अर्काको गल्ती कमजोरी खोज्नु भन्दा हरेक समस्याको अध्ययन अनुसन्धान गरेर समस्या समाधानको विकल्प खोज्नु आवश्यक छ । यदि समयमा निजी विद्यालमा अध्यापनरत शिक्षकहरुको समस्या समाधान गर्न सकिएन भने शैक्षिक क्षेत्रमा भयानक दुर्घटना हुन सक्छ । अब पनि सोचविचार नगरे कहिले गर्ने ?

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!