भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान पुनः शुरु गरिने

नौलो समाचार संवाददाता
२०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३३२ पटक पढिएको
भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान पुनः शुरु गरिने

भदाै ६, काठमाडौं। सरकारले आउँदो १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान पुनः संचालन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले नियमित पीसीआर परिक्षण हुँदै आएका देशहरुमा नियमित अन्तर्राष्ट्रिय उडान शुरु गर्ने भएको हो।

यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन्। उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ।

कोरोना संक्रमणको जोखिमलाई विचार गरेर पीसीआर परिक्षण सहजै उपलब्ध नभएका कतार, कुवेत, साउदी अरेविया लगायतका मुलुकबाट भने तत्कालका लागि नियमित उडानमार्फत यात्रु ल्याउन प्रतिबन्ध नै लगाइराखिएको छ।

नियमित उडान सुचारु हुने मुलुकबाट नेपाल आउने यात्रुले पनि एक साताका लागि होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । सोपछि पीसीआर परिक्षण गरी नतिजा नेगेटिभ आए उनीहरु आफ्नो गन्तव्य जान पाउनेछन्।

कोभिड-१९ संक्रमणको जोखिम न्यून गर्नका लागि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपाल अवतरण भएका यात्रुले सात दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था सरकारले लागू गरेको छ।

पीसीआर परिक्षण सहज नरहेका मुलुकबाट नेपाल फर्किन चाहनेले भने सम्बन्धित देशमा रहेको कुटनीतिक नियोग (नेपाली दूतावास) को सिफारिस लिएर चार्टर उडान प्रयोग गर्नुपर्ने सरकारले निर्णय गरेको छ।

होटल संघ नेपालले अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका लागि फेरि पनि क्वारेन्टिन सुविधा सुरु गर्ने निर्णय गरिसकेको छ। संघका पर्यटकीयदेखि पाँचतारेसम्मका ६० सदस्य होटलहरुले आफ्ना कुल दुई हजार कोठाहरु क्वारेन्टिन सुविधाका लागि उपलब्ध गराउने सहमति जनाइसकेका छन् ।

संघले उक्त होटलहरुमा क्वारेन्टिनका लागि दैनिक १८ सयदेखि नौ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । जसमा बिहानदेखि बेलुका सम्मको सम्पूर्ण खाजा खाना र स्वास्थ्य सुरक्षा प्रबन्धको लागत संलग्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस